बाख्रापालक किसानलाई अनुदान

मुग्लिन।   चितवनको इच्छाकामना गाउँपालिकाले नमूना खोर निर्माण तथा खोर सुधारका लागि बाख्रापालक  किसानलाई अनुदान वितरण गरेको छ । किसानको आर्थिक समृद्धिमा पनि सघाउ पु¥याउने उद्देश्यले गाउँपालिकाले बाख्रापालक किसानका लागि अनुदान रकम वितरण गरेको हो ।  

    मङ्गलबार  गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले वडा नं १ का ३३ जना बाख्रापालक किसानलाई जनही रु १० हजारका  दरले रकम हस्तान्तरण गर्नुभयो । उहाँले वडा नं १ को ज्यान्दाला, तोवाङ र मेत्राङका बाख्रापालक किसानलाई अनुदान रकम हस्तान्तरण गर्नुभएको हो ।

    यसैबीच उत्कृष्ट खोर निर्माण गर्ने तीन समूहलाई रु २५ हजारका दरले रकम हस्तान्तरण गरिएको छ । गाउँपालिकाका सातवटै वडामा  गरी ५२  बाख्रापालक कृषक समूह निर्माण गरी काम भइरहेको छ । हालसम्म ३९ बाख्रापालक किसानलाई रकम वितरण गरिसकिएको अध्यक्ष गुरुङले बताउनुभयो । गाउँपालिकाका ५२ समूहका १३० बाख्रापालक किसानलाई नमूना खोर निर्माण तथा खोर सुधारका लागि अनुदान दिइने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । 

    जनताको जीवनस्तर उकास्नका लागि गाउँपालिकाको नीति तथा कार्यक्रमअन्तर्गत गैररसकारी संस्था हेफर नेपाल र दियालो परिवारसँग तीन वर्षभित्र रु एक करोड ५२ लाख खर्च गर्ने गरी सम्झौता  भएको छ । त्यसमध्ये  साझेदारी संस्थाको २५ प्रतिशत  सहयोग रहनेछ ।  

    साथै गाउँपालिकाले  युवा र बाबु समूह गठन गरी आर्थिक समृद्धिका लागि आधारशिला तालिम दिइने अध्यक्ष गुरुङले बताउनुभयो । 
 

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  १२ : ३१ बजे