एमालेले बुटवल उपमहानगरमा भट्टराई र रानामध्ये एकलाई अगाडि सार्ने सम्भावना

बुटवल । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा मेयरका आकांक्षीहरुले आन्तरिक भेटघाटलाई तीव्र बनाउन थालेका छन् ।

लुम्बिनी प्रदेशका १०९ पालिका मध्ये बुटवल उपमहानगरपालिकामा यति बेला धेरैको चासो देखिएको छ । यो नगरमा २२ वर्षदेखि एमालेले एकतर्फी कब्जा जमाउँदै आएको छ । 

बलियो सङ्गठन भएको हिसाबले पनि बुटवलमा एमालेले चुनाव सहजै जित्ने आंकलन गर्न थालिएको छ । मेयरका लागि एमालेबाट बाबुराम भट्टराई र गोपाल रानामध्ये एकले टिकट पाउने सम्भावना बढेको छ । दुवै नेताले जिल्लादेखि केन्द्रसम्म लविङ तीव्र पार्नुभएको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा काँग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धन गरेर चुनाव लड्दा पनि एमालेले एक्लै विजय हासिल गरेको थियो । 

एमाले बुटवल उपमहानगर कमिटीका निवर्तमान अध्यक्ष बाबुराम पन्थी भन्नुहुन्छ, “बुटवलमा एमालेको सङ्गठन बलियो छ, जुनसुकै गठबन्धन आए पनि एमालेले सहजै चुनाव जित्छ ।”

भट्टराई र रानामा को बलियो? 
​​​​​​​अघिल्लो निर्वाचनमा पनि मेयरको दौडमा रहनुभएका बाबुराम भट्टराईले आफू १३ वर्षको हुँदादेखि नै राजनीतिप्रति चासो राख्न थाल्नुभएको थियो । पार्टीका नेताहरू भूमिगत कालमा उहाँ बसेकै भाडाको घरमा आउने जाने क्रम चल्दा उहाँमा पार्टीमा काम गर्ने इच्छा बढ्दै गयो । फलस्वरूप २०३६ सालदेखि उहाँ कम्युनिष्ट पार्टीमा आबद्ध हुनुभयो । लामो समय उहाँले व्यवसाय सेक्टरमा रहेर काम गर्नुभयो भने उहाँ पार्टीको जिल्ला कमिटी हुँदै हाल प्रदेश कमिटी सदस्य हुनुहुन्छ । नेपाल औषधि व्यवसायी सङ्घका पूर्व राष्ट्रिय अध्यक्ष भट्टराईले पार्टीको केन्द्रीय स्वास्थ्य विभागमा रहेर पनि काम गर्नुभयो । 

२०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाउनुभएका भट्टराई २०६२/०६३ सालको आन्दोलनमा आकस्मिक राहत कोषका संयोजक हुनुहुन्थ्यो । त्यति बेला सङ्कलन गरिएको रकम मध्ये बचत रकम केही समय अघि बुटवलको कोरोना अस्पताललाई प्रदान गरिएको थियो । 

त्यस्तै उहाँले बुद्धिजीवी परिषद्मा रहेर पनि काम गर्नुभयो । भट्टराई ३५ वर्षको उमरमै औषधि व्यवसायी सङ्घको लुम्बिनी प्रदेश अध्यक्ष बन्नुभएका थियो।  पार्टीमा धेरैले उहाँलाई बौद्धिक व्यक्तित्व भनेर चिन्ने गर्छन् । सबैसँग सन्तुलित व्यवहार गर्ने भएकाले विपक्षीको मत तान्न सक्ने क्षमता पनि भट्टराईमा रहेको पार्टीका कतिपय नेताहरू बताउनुहुन्छ ।                                    

गोपाल राना बुटवलका प्रतिष्ठित होटल व्यवसायी हुनुहुन्छ। मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट र बुटवलको ड्रिम इन्टरनेशनलका सञ्चालक रहनुभएका राना पार्टीका निवर्तमान जिल्ला उपसचिव र हालका प्रदेश कमिटी सदस्य हुनुहुन्छ। त्यस्तै उहाँ होटल व्यवसायी महासङ्घका केन्द्रीय सदस्य समेत हुनुहुन्छ। 

अघिल्लो निर्वाचनमा एमालेबाट शिवराज सुवेदी नगर प्रमुखमा विजयी हुनुभएको थियो । उहाँले काँग्रेसका खेलराज पाण्डेलाई २ हजार ४ सय मतान्तरले मात्र पराजित गर्नुभएको थियो । त्यसबेला माओवादीको करिब ३५ सय मत थपिँदा कम मतको अन्तरमा विजयी भएको र अहिले माओवादीका धेरै नेता कार्यकर्ता नेकपा विभाजनपछि एमालेमा आएको र अहिले एमालेको मत गत निर्वाचनभन्दा धेरै हुने एमाले बुटवलका नेता बाबुराम पन्थी बताउनुहुन्छ ।

बुटवलमा २०७४ सालको निर्वाचनयता १३ हजारभन्दा बढी मतदाता थपिएका छन् । ती थपिएका मत आगामी निर्वाचनका लागि निर्णायक बन्ने देखिएको छ । “कार्यकर्ता पङ्क्तिमा बौद्धिक व्यक्तित्वलाई टिकट दिनुपर्ने मत धेरै छ, तर थपिएका मतदाताबारे पनि अध्ययन भइरहेको छ”–एमालेका एक युवा नेताले भन्नुभयो। 

काँग्रेसमा भने अघिल्लो निर्वाचनमा पराजित खेलराज पाण्डे दोहोरिने सम्भावना बलियो छ । उहाँ अहिले पार्टीको बुटवल नगर सभापति हुनुहुन्छ । नेपाल पत्रकार महासङ्घ रुपन्देहीका पूर्व अध्यक्ष रहनुभएका काँग्रेस क्षेत्रीय सभापति हरि लम्सालले पनि मेयरको दाबी गर्नुभएको छ । 

बुटवल एमाले उपाध्यक्ष विष्णु पौडेलको गृह नगर रहेको र काँग्रेस नेता बालकृष्ण खाँणले पनि यहाँको चुनावलाई प्रतिष्ठाको विषय बनाउनुभएकाले आगामी निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।     

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ८ : १६ बजे