पाँच दलीय गठबन्धन टालाटुली बाटुली कति राम्रा पुतली भने जस्तै हो: अध्यक्ष ओली 

​​​​​​​काठमाडौं –  नेकपा एमालेका  अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन दुई दिनको खेल रहेको बताउनुभएको छ ।

प्रगतिशील इन्जिनियर्स एशोसिएसन नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अदालतको परमाधेशबाट बनेको पाँच दलीय गठबन्धन दुई दिनको खेल रहेको बताउनुभएको छ ।

'पाँच दलीय गठबन्धन भन्नुहुन्छ नि यो दुई दिनको केटाकेटीको खेल हो । अदालतले ल्याएर जोडजाम गरिदिएको पुतली हो । टालाटुली बाटुली कति राम्रा पुतली भने जस्तै हो । यी टालाटुली बटुलेका पुतलीहरू राम्रो पनि छैनन् । टाला पनि मिलाएर बनाउन जानेका छैनन्,' ओलीले भन्नुभयो । 

उहाँले पाँच दलीय गठबन्धन भ्रमको खेती भएको बताउनुभएको छ । स्थायी कुरा सत्य हुने भन्दै ओलीले भन्नुभयो , 'स्थायी कुरा जनताको आदेश हो । जनताको आदेश के थियो र के आउँछ भन्ने कुरा आगामी निर्वाचनले देखाउँछ ।'

प्रगतिशील इन्जिनियर्स एशोसिएसन नेपालका अध्यक्ष शम्भुबहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका सचिव तथा संगठनका इन्चार्ज कमरेड गोकर्ण विष्ट, जनसंगठन समन्वय संयन्त्रका संयोजक कमरेड भानुभक्त ढकाललगायतले बोल्नुभएको थियो ।

उक्त अवसरमा पार्टी प्रवेश गर्नेहरूलाई अध्यक्ष ओलीले स्वागत गर्नुभएको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ४ : १६ बजे