नेपाल बैङ्क बागलुङको आफ्नै भवनबाट सेवा

गलकोट । नेपाल बैङ्क बागलुङले आफ्नै भवनबाट सेवा दिन सुरुआत गरेको छ । 

बागलुङ नगरपालिका–३ स्थित आफ्नै जग्गामा रु दुई करोड ३६ लाख ४२ हजार लागतमा भवन निर्माण गरिएको सो बैङ्कका शाखा प्रमुख अमृत सेवाले जानकारी दिनुभयो ।

बैङ्कको भवन जीर्ण भएपछि चार वर्ष अघि भाडाका घरमा सरेको थियो । बैङ्कले सुविधा सम्पन्न आफ्नै भवन निर्माण गरेर आइतबारदेखि सेवा दिन थालिएको उहाँले बताउनुभयो ।  यसअघि सो बैङ्कले मासिक एक लाख भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएको थियो । 

बैङ्कको नाममा रहेको छ आना एक पैसा जग्गामा तीन तले सुविधा सम्पन्न भवन निर्माण भएर हस्तान्तरण भएपछि सेवा दिन थालिएको हो । ‘डेभ एण्ड सायर तिलक जेबी निर्माण कम्पनी’ ले भवन निर्माण गरेको थियो । 

२१ हजार बढी ग्राहकलाई सेवा दिइरहेको बैङ्कको आफ्नै भवन बनेपछि नयाँ एटीएम सेवा, लकर सेवा ग्राहकलाई पार्किङ सुविधासहितको सेवा दिएको शाखा प्रमुख सेवाको भनाइ छ ।  भाडाको घरबाट सेवा दिँदा निकै समस्या भएकोमा आइतबारदेखि आफ्नै भवनबाट सेवा दिँदा सहज हुने शाखाले अपेक्षा लिएको छ ।

  घ वर्गको शाखामा दुई पटक उत्कृष्ट शाखाबाट सम्मानित भइसकेको छ । नेपाल बैङ्क लिमिटेडको देशभर २१३ शाखा १४८ एटीएम ५० वटा एक्टेन्सन काउन्टर, २० लाख ग्राहक रहेका छन् । बागलुङको शाखा र एक्सटेन्सन काउन्टरमा गरी २१ जना कर्मचारी कार्यरत छन् ।

बागलुङ सदरमुकामसहित गलकोट र ढोरपाटन नगरपालिकामा बैङ्कको शाखा छ । नेपालकै सबैभन्दा पुरानो सो बैङ्कको बागलुङ शाखाले २०१७ साल माघ ४ गतेदेखि  वित्तीय सेवा दिँदै आएको छ ।रासस

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ११ : २७ बजे