भन्सार एजेन्टको परीक्षा वैशाखमा, ६६० पदका लागि साढे ९ हजार भिड्दै

काठमाडौँ । भन्सार एजेन्टको विज्ञापनको एक वर्षपछि परीक्षा सञ्चालन हुने भएको छ ।

भन्सार विभागले सार्वजनिक सूचना जारी गरी आगामी वैशाख १७ गतेका लागि लिखित परीक्षा तय गरेको छ ।

परीक्षा रोक्न माग गर्दै परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले  चैत १३ गते यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश दिएपछि परीक्षा हुने भएको हो ।

आरक्षण व्यवस्था नगरिएको भन्दै क्रिष्टिना थैवले भन्सार विभागविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गर्नुभएको थियो । थैवले भन्सार एजेन्ट सम्बन्धी सो विज्ञापनमा आरक्षण कोटा राख्नुपर्ने भन्दै माग दाबी  गर्नुभएको थियो

गत वर्ष १६ चैतमा भन्सार एजेन्ट इजाजत पत्रका लागि दरखास्त भएको थियो ।

भन्सार एजेन्टको परीक्षा सोही वर्षको  २२ जेठ र २९ माघमा तोके पनि दुवै पटक स्थगित भएका थिए । यसअघि २८ फागुनमा परीक्षा तय भए पनि मुद्दाका कारण रोकिएको थियो । 

६६० पदका लागि साढे ९ हजारले आवेदन दिएको भन्सार विभागले जनाएको छ ।

 

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ७ : ३७ बजे