दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

लुम्बिनीमा मङ्गलवारदेखि बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने

बुटवल । लुम्बिनी प्रदेशमा २२ चैत अर्थात् मङ्गलवारदेखि बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो । 

प्रदेशमा खोप लगाउनुपर्ने १५ महिनादेखि १५ वर्ष उमेरका बालबालिकाको जनसङ्ख्या १३ लाख छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले लुम्बिनीमा १३ लाख १३ हजार ९८९ लाई टाइफाइड विरुद्धको खोप लगाउने तयारी भएको जानकारी दिनुभयो ।

उहाँले टाइफाइडबाट बच्नका लागि थाइपोइड खोप लगाउने तयारी भएको जानकारी गराउनुभयो । उहाँले भारतमा उत्पादित खोपको प्रभावकारिता ९६.९५ प्रतिशत रहेकोले डर नमानी खोप लगाउन आग्रह गर्नुभयो ।

खोप अभियान २८ चैतसम्म सञ्चालन हुनेछ । विद्यार्थीको वार्षिक परीक्षा भएकोले वैशाख अघि नै खोप अभियान सकिने स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

दूषित पानीको कारणले लाग्ने टाइफाइड, अस्पताल भर्ना हुनेको कारणमध्ये चौथो कारण भएकोले अभियान नै सुरु गरेर कार्यक्रम गर्न लागिएको स्वास्थ्य निर्देशनालय लुम्बिनीका प्रवक्ता रोशनलाल चौधरीले जानकारी दिनुभयो ।

यो अभियान पहिलो पटक चलेको बताउँदै आगामी दिनमा नियमित लगाउन मिल्ने गरी अगाडि बढिने उहाँको भनाइ छ ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ८ : २४ बजे