मोटरसाइकल ट्र्याक्टरमा ठोक्किँदा चालकको मृत्यु

दमक । तीव्र गतिमा सवार मोटरसाइकल रोकिराखेको ट्र्याक्टरमा ठोक्किँदा झापाको गौरादहमा शनिवार साँझ एक युवाको ज्यान गएको छ । 

गौरादह–९ बैगुनधुरास्थित भित्री सडकमा मे२प ३९१२ नंको मोटरसाइकल सोही सडक किनारमा रोकिराखेको को१क २४७९ नंको ट्र्याक्टरमा ठोक्किँदा गौरादह–९ का ४० वर्षीय राम हेमरमको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ । 

प्रहरीले दुर्घटनामा सम्बन्धमा  आवश्यक अनुसन्धान सुरु गरिएको जनाएको छ ।

यसैगरी शनिवार नै झापा दमक–५ का कृष्णकुमार राईका १३ वर्षीय छोरा रोहण राईको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । 

दमक–२ मा रहेको लाजेको बाँधमा साथीसँग पौडी खेल्ने क्रममा अचानक बालक राई डुबेका र उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताउनुभयो । बालक एक्कासि दहमा डुबेपछि उनका साथीहरूले स्थानीयवासीसँग हारगुहार गरेका थिए ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको उहाँले बताउनुभयो । उक्त बाँधमा एक वर्षअघि समेत पौडी खेल्ने क्रममा एक युवाको पनि डुबेर मृत्यु भएको थियो । रासस

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ८ : ०९ बजे