पत्रकारिता क्षेत्रले चौथो अङ्गको मर्यादा कायम राख्नुपर्छ : अध्यक्ष तिमिल्सिना

चितवन – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पत्रकारिता क्षेत्रले चौथो अङ्गको मर्यादालाई कायम राख्नुपर्ने बताउनुभएको छ । नारायणी टुडे मासिक पत्रिकाको २१औँ वार्षिकोत्सवलाई आज यहाँ सम्बोधन गर्दै उहाँले मिसन पत्रकारिताको नाममा गलत प्रविधि बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “गलत खालको मिसन पत्रकारितालाई शुद्धीकरण गर्दै जानुपर्ने आवश्यकता रहेको छ ।” चौथो अङ्गको मर्यादालाई कसरी कायम राख्ने भन्ने विषयमा सबैले ख्याल राख्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै समय लोकतन्त्रका लागि मिसन पत्रकारिता थियो, अहिले त्यसको गलत प्रयोग गरिन थालिएको छ ।” 

अहिलेको समयमा पत्रकारिता क्षेत्रलाई प्रयोग गरी गलत कामको ढाकछोप र प्रचार प्रसार गर्ने प्रचलन बढेको भन्दै उहाँले इमान्दार पत्रकारलाई अझै जोखिम हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्धक्क भएर सूचना सम्प्रेषण गर्न अझै पनि कठिन छ ।” पत्रकारितालाई चौथो अङ्गका रूपमा स्थापित गराउने मान्यतालाई बदनाम गराउनेले पत्रकारको बदनाम गराएको उहाँको भनाइ थियो ।

पत्रकारिता सहज नभएको भन्दै उहाँले लोकतान्त्रिक गणतन्त्रमा प्रेस स्वतन्त्र रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “राज्य, व्यक्ति र संस्थाका गलत क्रियाकलापलाई बाहिर ल्याउनु र जनतालाई सूचना दिनु पत्रकारको धर्म हो ।”

फरक प्रसङ्गमा बोल्दै उहाँले स्थानीय तहको निर्वाचनमा काम गर्ने व्यक्तिलाई निर्वाचित गराउन अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “दुःख पाएकालाई सुख दिन प्रमुख, मन्त्री बनाउने होइन, काम गर्न जाने हो त्यहाँ त काम गर्ने व्यक्तिलाई टिकट दिनुर्छ र निर्वाचित गराउनुपर्छ ।” निर्वाचनले जनप्रतिनिधिमात्रै फेर्ने नभई देशले काँचुली फेर्ने नेतृत्वलाई विजयी गराउन उहाँको सुझाव थियो । निर्वाचनमा क्षमतावान उम्मेदवार छान्नसमेत उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले देश र जनताको पक्षमा पत्रकारिता अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “समाज परिवर्तनमा पत्रकारको महत्वपूर्ण भूमिका रहेको छ ।” नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, प्रेस काउन्सिल नेपालका सदस्य ठाकुर बेल्बासे, नेकपा (एमाले)का जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी, नेपाल पत्रकार महासङ्घका अध्यक्ष नारायण अधिकारी, पूर्वअध्यक्ष विष्णु छिमेकी, समाजसेवी नारायणसिंह कुँवर, मञ्जु खाँडा, सीता सापकोटा, राजु पौडेललगायतले बोल्नुभएको थियोे । 

वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा कृष्ण पौडेल र पत्रकार शान्ता अधिकारीलाई सम्मान गरिएको थियो । सो अवसरमा पत्रिकाका प्रधानसम्पादक वीरेन्द्रमणि पौडेलले हालसम्म १७१ अङ्क प्रकाशित भएको जनाउँदै सबैको साथ र सहयोगबाट मोफसलमा स्थापित हुनसकेको बताउनुभयो ।  

रासस

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ८ : ५८ बजे