सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

त्रिकोणात्मक ट्वान्टी–२०  : नेपालले आज मलेसियासँग खेल्दै

काठमाडौँ । त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज मलेसियाको सामना गर्दा नेपाल शतप्रतिशत नतिजाको लक्ष्यमा हुनेछ ।

दिउँसो साढे १२ः०० बजे सुरु हुने खेलमा मलेसिया भने निकै दबाबमा हुनेछ  । आजको खेलमा पराजित भए मलेसिया फाइनल खेल्नबाट वञ्चित हुनेछ । 

यता, नेपाल तीन खेलमा ६ अङ्क जोड्दै यसअघि नै फाइनल प्रवेश गरिसकेको छ । नेपाल र मलेसियाबीचको खेलले फाइनल प्रवेश गर्ने अर्को टोलीको टुङ्गो लगाउने छ । 

नेपालले मलेसियालाई हराएमा पपुवा न्युगिनी (पिएनजी) फाइनल प्रवेश गर्नेछ । नेपाललाई हराएमा भने मलेसिया फाइनल प्रवेश गर्नेछ । फाइनल खेल सोमबार हुनेछ । 

पीएनजीले शुक्रवार मलेसियालाई हराउँदै फाइनल प्रवेश सम्भावना जीवित राखेको छ । दोस्रो स्थानको पीएनजी र तेस्रो स्थानको मलेसियाको समान २ अङ्क छ । 

नेपालले पीएनजी विरुद्धको दुवै खेल जितेको थियो भने मलेसियालाई एक खेलमा पराजित गरेको थियो ।

मलेसिया विरुद्धको खेलमा प्रशिक्षक पुबुदु दसानायकेले बिहीबार पिएनजीविरुद्ध उतारेको टोलीलाई नै निरन्तरता दिने प्रबल सम्भावना छ । 

सो खेलमा दिपेन्द्र सिंह ऐरीले अर्ध शतक पूरा गरेका थिए भने डेब्यु खेलमै आदिल आलमले विस्फोटक ब्याटिङ गर्दै ११ बलमा ३१ रन बनाएका थिए । 

बलिङतर्फ तीव्र गतिका बलर करण केसी ह्याट्रिकसहित पाँच विकेट लिने पहिलो नेपाली खेलाडी बनेका थिए । उनले ट्वान्टी–२० क्रिकेटमा ५० विकेट समेत पूरा गरेका थिए । 

यता नेपाल विरुद्धको पहिलो खेलमा मात्र ११४ रनमा समेटिएको मलेसिया उच्च प्रदर्शनका साथ फाइनलमा स्थान बनाउन चाहन्छ । पीएनजी विरुद्धको पहिलो भेटमा जित निकालेको मलेसिया शुक्रवार भने बलियो योगफलका बाबजुद निराश भएको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ११ : २१ बजे