एनपीएलको ट्रफी सार्वजनिक

देउवाको भारत तीर्थाटन र लम्पसार परराष्ट्र सम्बन्ध

प्रधानमन्त्री तीन दिने भारत भ्रमणमा छन् । भारत भ्रमणको मुखैमा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले प्रमुख प्रतिपक्षसँग कुनै परामर्श नभएको भनी सामाजिक सञ्जालमा आपत्ति जनाएका छन् । भारत भ्रमणको सन्दर्भमा छलफलमा डाकिएका गठबन्धनका नेताहरूले बारम्बार भारत भ्रमणको मुख्य एजेण्डा माग गरिरहँदा देउवाले नसुनेझैँ गरे र बिचरा गठबन्धनका निरीह नेताहरूले परम्परागत एकोहोरो सुझाव राखेर फर्किए । 

प्रधानमन्त्रीको पदीय हैसियतमा भारत भ्रमणमा गएका देउवाको भ्रमण राजकीय नभई सद्भाव मात्र भएको सार्वजनिक भइसकेको छ । सञ्चार माध्यममा आएका विवरणलाई हेर्ने हो भने प्रधानमन्त्रीको उच्चस्तरीय भेटघाट र तीर्थाटनको कार्य तालिका बराबरी रहेको छ । 

भारत भ्रमणमा रहेका देउवाले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन्, राष्ट्रपतिसँग होइन । केही सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहे पनि ती नेपालको लागि नयाँ र दूरगामी प्रभाव पार्ने खालका हुने छैनन् भन्ने तथ्य भ्रमण पूर्व गरिएको आन्तरिक तयारीबाट नै स्पष्ट छ । 

यी सबै तथ्यहरूलाई मनन गर्दा देउवाको भारत भ्रमण फगत तीर्थाटन बाहेक धेरै केही हुने छैन भन्ने देखिन्छ । यहाँ तीर्थाटन राजनीतिक र व्यावहारिक दुवै अर्थमा प्रयोग गर्न खोजिएको छ । व्यावहारिक रूपमा राजघाट र वाराणसीको व्यक्तिगत भ्रमण परम्परागत तीर्थाटनको कार्यक्रम हो भने लामो प्रयत्नका बाबजुद बल्ल बल्ल जुटाएको भारत भ्रमण केवल सद्भाव भ्रमण हो र सद्भाव भ्रमणकै लागि पनि निर्वाचनको मुखमा देउवा जान चाहनुले उनले नेपाली सत्ता शक्तिका लागि भारतीय आशीर्वादको याचना गर्ने अवसरको रूपमा यसलाई लिन चाहेको देखिन्छ । 

नेपाली काँग्रेसमा भारतीय समर्थन परम्परागत रूपमा नै कोइराला परिवारप्रति रहिआएको छ । नेपाली काँग्रेसको शेखर कोइराला समूह भारतीय राजनीतिक शक्ति र सहयोगमा निकट रहेका कारण देउवा आफू अमेरिकी समर्थन र प्यारो हुँदा हुँदै पनि पार्टी भित्रको राजनीतिक शक्ति सन्तुलनमा सधैँ नै जोखिममा रहेको महसुस गर्दछन् । तसर्थ काँग्रेस भित्रको शक्ति व्यवस्थापन र सत्ता गठबन्धनको निरन्तरताका लागि देउवाले यो सद्भाव भ्रमणको भरपूर उपयोग गर्ने प्रयत्न गर्ने देखिन्छ । यस अर्थमा यो देउवाको राजनीतिक तीर्थाटन पनि हो । 

देउवाको यो भ्रमण चीनका परराष्ट्र मन्त्रीको नेपाल भ्रमणको लगत्तै भएको छ । यस अर्थमा भारतीयहरूका लागि नेपाल—चीन सम्बन्ध र चीनको नेपाल चासो महत्त्वपूर्ण सरोकारको विषय भएको छ । दक्षिण एसियामा भारत आफ्नो एकछत्र दबदबा कायम राख्न चाहन्छ । 

नेपाल, पाकिस्तान, अफगानिस्तान लगायतका देशहरूमा बढिरहेको चिनियाँ प्रभाव उसका लागि असह्य छ । दक्षिण एसियामा आफ्नो सामाजिक र आर्थिक दबदबा तथा राजनीतिक प्रभुत्व कायम राख्न र चीनको बढ्दो प्रभावको सामना गर्न उसले अमेरिकासँग सैन्य गठबन्धन तथा रणनीतिहरूमा प्रत्यक्ष संलग्नता बढाइरहेको छ । यसको स्पष्ट उदाहरण हो अस्ट्रेलिया, जापान र अमेरिका संलग्न क्वाड (चौकुने) सुरक्षा समूहमा भारतको संलग्नता । 

त्यसैगरी इन्डो प्यासिफिक रणनीति अन्तर्गत उचालिएको साउथ चाइना सीको विवादमा भारत अग्रपङ्क्तिमा रहेको छ । बिमस्टेकमा भारतले सुरक्षा सम्बन्धी उपसमितिको संयोजन गरेर दक्षिण एसियामा बिमस्टेकमार्पmत आफ्ना सुरक्षा रणनीतिहरू अघि बढाउन थप प्रयत्न गर्ने देखिन्छ । 

यस सन्दर्भमा भारतीय बाटो हुँदै अमेरिकी सुरक्षा रणनीति प्रवेश नगर्ला भन्न सकिन्न । देउवाको यस भ्रमणमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले पनि प्रधानमन्त्री देउवासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । यसका लागि प्रचण्डले भने जस्तो माधव, प्रचण्ड र देउवाको संयुक्त गठबन्धन कम्फर्टेबल सरकारका प्रधानमन्त्री उपयुक्त सहयोगी पात्र हुन सक्छन् । 

नेपालका प्रधानमन्त्रीको हैसियतमा भइरहेको यस भ्रमणका सन्दर्भमा परराष्ट्र मन्त्रालयबाट जारी भएको प्रेस विज्ञप्तिमा प्रधानमन्त्रीको यस भ्रमणमा के कस्ता विषयहरूमा छलफल हुनेछ भन्ने विषय केही पनि खुलाइएको छैन । यसको दुई वटा अर्थ रहन्छ, पहिलो— भ्रमणका सन्दर्भमा त्यस्तो मुख्य एजेण्डा केही पनि छैन त्यसैले परराष्ट्र मन्त्रालयले विषयहरू खुलाइरहन परेन । दोस्रो— देउवा सरकार भारत सरकारसँग गरिने छलफलका विषय नेपालका नागरिक, राजनीतिक दलहरूलाई जानकारी दिन चाहँदैन, किनभने ती प्रस्तावहरू विवादित हुन सक्दछन् । 

प्रधानमन्त्री देउवाले भ्रमण तालिकामा उल्लेख नै नभएको र सामान्य कूटनीतिक मर्यादालाई समेत बेवास्ता गर्दै भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीको केन्द्रीय कार्यालयमा भ्रमण गरेका छन् । यो उनको लम्पसारवाद र कम्फर्टेबल निरीहता बाहेक केही होइन । सामान्यतया राष्ट्रको कार्यकारी प्रमुख प्रधानमन्त्रीको भ्रमणका क्रममा सम्बन्धित देशका दलका नेताहरू उनकै निवास स्थल वा आयोजित रात्रि वा दिवा भोजको समयमा औपचारिक भेट गर्ने गर्दछन् । तर, हाम्रा प्रधानमन्त्री देउवाले नेपालको सार्वभौमिकताको सामान्य इज्जतको पनि ख्याल नगरी भारतीय जनता पार्टीको कार्यालयमै गएर ‘त्वं शरणम्’ गरेका छन् । भ्रमण दलमा रहेका परराष्ट्र मन्त्रीले यस्ता प्रोटोकलका सामान्य व्यवस्थाबारे पनि सचेत नगराउनुले नेपालको परराष्ट्रको कार्यक्षमतामा पनि गम्भीर प्रश्न उठेको छ । स्मरण रहोस्, देउवाको भ्रमणमा भारतका प्रमुख प्रतिपक्षी दलसँगको भेटघाटको कुनै कार्य तालिका रहेको छैन । प्रधानमन्त्री देउवाका केन्द्रीय नेताहरू छाती ठोकेर भन्दैछन् भेट्ने त भाजपालाई नै हो, अरूलाई हो र । 

देशको प्रधानमन्त्री दलीय निमन्त्रणामा होइन, दुई सरकारको सद्भाव भ्रमणमा रहेको सामान्य तथ्य समेत स्वीकार नगर्ने काँग्रेसी नेता, यस्ता गम्भीर विषयमा चुइँक्क गर्न नसक्ने ‘जनयुद्धका कमाण्डर’ भनिएका कमरेड प्रचण्ड र स्वघोषित सक्षम नेता कमरेड माधव नेपालहरूको भारत परस्त लम्पसारवादी मनोविज्ञान छरपष्ट भएको छ ।

यसभन्दा अघि पनि नेपाल भ्रमणमा आएका भारतीय जनता पार्टीका नेता चौथाइवालालाई रक्षाबन्धनमा राखी बाँधेर प्रधानमन्त्री पत्नी आरजु देउवाले लम्पसारवाद र देउवासहित सत्ता गठबन्धनको भारत भक्तिभाव त देखाइसकेकी नै हुन् । तर औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री स्वयंले परराष्ट्र सम्बन्धका सामान्य प्रोटोकलको पनि ख्याल नगर्नु कसरी स्वीकार्य हुन सक्दछ ?  

खास विषय, सरोकार र औचित्यता नहुँदा नहुँदै पनि हतारिएर भारत भ्रमणको तयारी गर्नु, देश निर्वाचनको तयारीमा रहेका समयमा यहाँको सुरक्षा, आर्थिक व्यवस्था लगायतका सन्दर्भहरूलाई बेवास्ता गर्दै बनारस घुम्न हिँड्नु, एक सार्वभौम देशको प्रधानमन्त्रीको लागि सुहाउने विषय होइन । यसले केवल भारतीय संस्थापनलाई खुसी पार्न अभ्यास गरिएको कम्फर्टेबल सरकारको लम्पसारवादी अभ्यास मात्र मान्न सकिन्छ ।  

परराष्ट्र मामिलाका विज्ञहरूले भनेजस्तो यस भ्रमणमा निर्यात प्रवर्द्धन, सीमा विवाद, प्रवासी नेपालीहरूका समस्या, इपीजी प्रतिवेदन, नेपालको सुरक्षा चासो जस्ता विषयमा देउवाले आफ्ना सरोकार राख्नेछन् वा छैनन् यो हेर्नै बाँकी छ, तर तयारी हेर्दा भने यसो होला भन्न सकिँदैन ।  

प्रधानमन्त्री देउवाको भ्रमणमा भएका छलफल, सम्झौता तथा उपलब्धिहरूका बारेमा भ्रमण सम्पन्न भएपछि जारी हुने प्रेस विज्ञप्तिबाट केही थाहा होला । तर, गठबन्धन दलका नेताहरूलाई गुमराहमा राखिएको र प्रमुख प्रतिपक्षी दलसँग पनि परामर्श नगरिएको यस भ्रमणले देउवा सरकारको कमजोर मानसिकता सहितको परराष्ट्र सम्बन्धको अभ्यास र तीर्थाटनको हुटहुटी भने स्पष्टै देखाएको छ । अझ गम्भीर कुरा त मुलुकका प्रधानमन्त्रीले मित्र देशको एक राजनीतिक दलप्रति देखाएको निरीह आत्मसमर्पण र लम्पसार भक्तिभावले नेपालको शिर निहुराएको छ । 

भाजपाको पार्टी कार्यालयको ढोका कुर्न दलबलसहित गएका प्रधानमन्त्री देउवाबाट नेपालको सार्वभौमिकता, सीमा विवाद र सरोकारका विषयमा प्रधानमन्त्री मोदीसँग कुरा राख्लान् वा राखेका छन् भन्ने समाचार आयो भने हास्यव्यङ्ग्यको एक शृङ्खलाको मात्र हो भन्न सकिन्छ । 

देउवाले परराष्ट्र मामिलाका सम्बन्धमा देखाएको यस्तो रवैयाका बारेमा बिपीका अनुयायी सचेत र राष्ट्र प्रेमी काँग्रेसी युवाहरूले प्रश्न गर्न सक्नेछन् ? नेपाली काँग्रेस र सत्ता गठबन्धनका माओवादी नेता प्रचण्ड, माधव नेपालहरूले देउवाको बचाउ कुन मुखले गर्न सक्नेछन् ? यस्तो लज्जास्पद गतिविधिको बारेमा नेपाली काँग्रेस र सरकारका प्रवक्ताले जवाफ दिनुपर्दैन ? एक सामान्य नेपाली जनताको प्रश्न हो यो ।  

 

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ९ : ५७ बजे