नेपाल र बेलिजबीच कूटनीतिक सम्बन्ध स्थापना

 

काठमाडौँ । नेपाल र बेलिजबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।  योसँगै नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने राष्ट्रको सङ्ख्या १७६ पुगेको छ ।

कूटनीतिक स्थापना गर्ने सम्बन्धी पत्रमा नेपालको तर्फबाट न्युयोर्कस्थित राष्ट्रसङ्घीय स्थायी नियोगका लागि स्थायी प्रतिनिधि तथा राजदूत अमृतबहादुर राई र बेलिजको तर्फबाट राष्ट्रसङ्घका लागि बेलिजका स्थायी प्रतिनिधि तथा राजदूत कार्लोस सी. फुलरले हस्ताक्षर गर्नुभयो। 

अमेरिकाको न्युयोर्कस्थित नेपाली स्थायी नियोगमा शुक्रवार एक कार्यक्रमको आयोजना गरी कूटनीतिक स्थापन सम्बन्धी पत्रमा हस्ताक्षर गरिएको थियो । 

दुवै देशका राजदूतले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई पत्र लेखि दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको बारेमा जानकारी समेत गराएको नेपाली स्थायी नियोगले जनाएको छ । 

बेलिज एक क्यारिबियन देश हो । बेलिज सन् १९८१ सेप्टेम्बर २१ मा बेलायतबाट स्वतन्त्र भएको थियो । सन् १९७३ भन्दा अघि बेलिजलाई ब्रिटिस होन्डुरस भनेर चिनिन्थ्यो । 

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ९ : १२ बजे