जनकपुर–जयनगर रेल सेवा आजदेखि सञ्चालनमा आउने

काठमाडौँ ।  जनकपुर–जयनगर रेल  सेवा आजदेखि सञ्चालनमा आउने भएको छ । 

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले भारतको हैदराबाद हाउसबाट दिउँसो साढे १२ बजे भर्चुअल माध्यमबाट संयुक्त रूपमा उद्घाटन गरेसँगै जनकपुर–जयनगर रेल सेवा सञ्चालनमा आउने भएको हो ।

यससँगै २०७७ असोजमा भारतबाट करिब १ अर्ब खर्च गरी खरिद गरिएको दुई वटा रेल सञ्चालनमा आउन लागेको हो । 

यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले रेल सञ्चालनको निकै प्रयास गरेको थियो । विभिन्न कारण सञ्चालनमा आउन नसकेको उक्त रेल आजदेखि सुरु हुन लागेको हो ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले सर्वसाधारणलाई रेलमा चढ्न आइतबारदेखि मात्रै खुल्ला हुने जानकारी दिनुभयो। 

“शनिवार टिकट काटिने छैन, आइतबारदेखि मात्रै टिकट काट्ने व्यवस्था मिलाएका छौँ ।” उहाँले भन्नुभयो, “टिकट काट्ने कर्मचारीदेखि लिएर अन्य कर्मचारी शुक्रवार नै जिम्मेवारी तोकिएको स्टेसन तथा हल्टहरुमा खटिसकेका छन्  । तर शनिवारदेखि यात्री बोकेर चलाउन प्राविधिक समस्या भएकोले आइतबारदेखि नियमित सञ्चालन गर्ने योजना बनाएका छौँ।”

भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने जयनगर– विजलपुर– बर्दिबास सम्म ६९ किलोमिटर रेल मार्गअन्तर्गत पहिलो चरणमा जयनगर– कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालन हुन लागेको महाप्रबन्धक झाले बताउनुभयो । 

रेल सञ्चालनका लागि चालकसहितका प्राविधिक कर्मचारी भारतीय रेल कम्पनी केआरसीएल कम्पनीसँग दुई पक्षीय जीटुजी सम्झौता भएको उहाँले बताउनुभयो । 

 

 

 

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ८ : ३६ बजे