भारत भ्रमणका नाममा प्रधानमन्त्री देउवाले तोड्नुभयो यी तीन परम्परा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज नयाँ दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ । 

देउवा देशको पाँचौँ पटक प्रधानमन्त्री भएपछि उहाँले गर्न लागेको यो पहिलो भारत भ्रमण हो । नेपालको प्रधानमन्त्रीले पछिल्लो चार वर्षमा गर्न लागेको यो भारतको पहिलो भ्रमण पनि हो । 

भारत भ्रमणको नाममा यस पटक प्रधानमन्त्री देउवाले तीन वटा परम्परालाई तोड्नुभएको छ । उहाँले तोडेको पहिलो परम्परा हो– भ्रमण जानुअघि पूर्व प्रधानमन्त्रीहरूसँग गरिने छलफल ।  यसभन्दा अघि देशका प्रधानमन्त्रीले अन्य देशको भ्रमण गर्नुअघि पूर्व प्रधानमन्त्रीहरूसँग सामूहिक छलफल गर्ने अभ्यास रहेको थियो । छलफलमा पूर्व प्रधानमन्त्रीहरूले भ्रमणलाई कसरी सफल बनाउने भन्ने बारेमा राय सुझाव दिने गर्नुहुन्थ्यो। तर यस पटक भने प्रधानमन्त्री देउवाले यस्तो छलफल गर्नुभएन । 

प्रधानमन्त्री देउवाले यस पटक भारत भ्रमण गर्दा भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को कार्यालयमा समेत जानुहुने भएको छ  । यो उहाँले तोडेको दोस्रो परम्परा हो । यसअघिका भ्रमणहरूमा नेपालका प्रधानमन्त्रीले भारतको कुनै दलको पार्टी कार्यालय जाने गर्नुभएको थिएन । यो कूटनीतिक मर्यादा विपरीत पनि हो । देशको प्रतिनिधित्व गरेर जानुहुने प्रधानमन्त्रीले एउटा पार्टीको कार्यालय भ्रमण गर्ने कार्यक्रम राख्दा भारतका अन्य राजनीतिक दलमा राम्रो सन्देश नजाने विज्ञहरूको तर्क छ । 

भारत भ्रमण गर्ने बहानामा प्रधानमन्त्री देउवाले ताड्नुभएको अर्को परम्परा हो– नेपाली सेनाले टुँडिखेलमा आयोजना गर्ने घोडेजात्रा कार्यक्रम । प्रत्येक वर्ष सेनाले घोडेजात्राको अवसरमा टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्छ । उक्त कार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्री उपस्थित भई अवलोकन गर्ने परम्परा वर्षौँदेखि रहिआएको छ । तर यस पटक प्रधानमन्त्री देउवा उक्त कार्यक्रममा सहभागी हुनुहुने छैन । 

प्रधानमन्त्री देउवा भारत भ्रमणमा जानुहुने भएकोले उक्त कार्यक्रममा सहभागी नहुने नेपाली सेनाले जनाएको छ । 

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ११ : ३५ बजे