राष्ट्रपतिको प्रमुख आतिथ्यमा भोलि टुँडिखेलमा घोडेजात्रा समारोह हुने

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा भोलि शुक्रबार अपराह्न परम्परागत घोडेजात्रा समारोह आयोजना गरिँदैछ । राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन टुँडिखेलमा घोडेजात्रा मनाइने परम्परा छ ।
 
    समारोहमा विभिन्न विधाका घोडा दौड प्रतियोगिता हुनेछ । त्यसअवसरमा अश्वकलाका विविध रोचक कार्यक्रमअन्तर्गत म्युजिकल राइड पास, ब्यानर डिस्प्ले, टाँगन र चार्जर घोडा दौड हुने नेपाली सेनाले जनाएको छ ।
 
    नारायणहिटी दरबार परिसरमा रहेको ‘वेग भक्ति सेवा’ आदर्श वाक्य रहेको सेनाको नेपाल क्याभलरीका घोडा प्रतियोगितामा समावेश गरिनेछ । साइकल रेश, शो–जम्प, ड्रिल राइड, क्रसकन्ट्री जम्पजस्ता खेलकुद प्रस्तुत हुनेछ । कुकुरको कौशलअन्तर्गत विविध रोमाञ्चक कलासमेत प्रदर्शन गरिनेछ ।
 
    उपराष्ट्रपतिलगायत विशिष्ट महानुभाव टुँडिखेल जानु भई सेनाले त्यहाँ आयोजना गर्ने अश्वकलाका प्रदर्शनी अवलोकन गर्नुहुनेछ । विश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिणमा रहेको रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसको भयसँग जोडेर जात्राको प्रारम्भ गरिएको भनाइ छ । गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने सोचअनुरूप घोडेजात्रा आयोजना गरिँदै आएकोे भनिएको छ ।
 
    घोडा र मानिसको सम्बन्ध मानव सभ्यताको इतिहासदेखि नै छ । दैनिक जीवनमा सहयोगीका रूपमा मात्र नभई प्राचीन तथा मध्ययुगीन ठूला लडाईंमा सेनालाई घोडा र कुकुरको साथ र सहयोग हुँदै आएको छ ।
  
    परम्परालाई कायम राख्न तथा संस्कृतिको संरक्षण गर्न सेनाले घोडेजात्रा समारोहमा घोडाका रोमाञ्चक कला प्रदर्शन गर्दै आएको सैनिक प्रवक्ता नारायण सिल्वालले बताउनुभयो । 

रासस

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  १० : १७ बजे