पार्टीलाई विजयी गराउन सबै नेता-कार्यकर्ता आफ्नो गाउँघर जानु: एमाले

काठमाडौं – नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी गराउन सबै नेतालाई भूगोलमा केन्द्रीत हुन आह्वान गरेको छ ।

तेस्रो केन्द्रीय कमिटी बैठकपछि अध्यक्ष केपी शर्मा ओलीले आज जारी गरेको अन्तरपार्टी निर्देशनमा स्थानीय तहको निर्वाचनमा पार्टीको पक्षमा माहोल बनाउन केन्द्रीय सदस्य, प्रदेश सदस्य,सम्पर्क समन्वयका सदस्यहरुलाई तोकेरै भूगोलमा केन्द्रीत हुन भनिएको छ ।

 पार्टीले जारी गरेको अपानिमा  केन्द्रीय नेतृत्वको महत्वपूर्ण अंश भूगोल बाहिरको विभाग, फाँट र निकायका काममा सक्रिय रहेको उल्लेख छ  । ‘निर्वाचनको समयमा हरेक तहका कमिटीमा रहेका पार्टी सदस्यहरू जनताको घर-घरमा पुग्नु आवश्यक छ ’अपानिमा भनिएको छ ‘ त्यसैले आसन्न निर्वाचनमा प्रवाससहित विभाग, फाँट र निकायमा क्रियाशील कमरेडहरूको भूमिका भूगोलको काममा पनि महत्वपूर्ण हुन्छ । तसर्थ, निर्वाचनसम्म गैरभौगोलिक कार्यक्षेत्र भएका सबै केन्द्रीय सदस्य कमरेडहरु आ-आफ्नो परिभाषित कामलाई निरन्तरता दिंदै आफूसम्बद्ध जिल्लामा निर्वाचनमा केन्द्रित हुने ।’

त्यसैगरी प्रदेश कमिटीका सबै सदस्यहरु आफूसम्बद्ध पालिकामा, जिल्ला कमिटीका सदस्यहरु आफूसम्बद्ध वडामा, वडा कमिटीका सबै सदस्यहरु आफूसम्बद्ध टोलमा तथा टोल कमिटीका सदस्यहरु घरधुरी बाँडेर निर्वाचन तयारीको काममा केन्द्रित हुने निर्देशन अपानिमा छ  । ‘निर्वाचनका लागि प्रवासमा रहेका पार्टीका कार्यकर्ता, समर्थक र शुभचिन्तकहरुलाई स्वदेश फर्केर सहभागी हुन आह्वान गर्ने’अध्यक्ष ओलीद्वारा जारी अपानिमा भनिएको छ ‘सम्पर्क कमिटी र सम्पर्क मञ्चमा आबद्ध कमरेडहरु आफ्नो पालिकामा फर्केर निर्वाचनमा केन्द्रित हुने ।’

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ८ : ४७ बजे