अहिलेकाे सरकारको काम गर्ने क्षमता र दक्षता दुवै छैन : अध्यक्ष ओली

​​​​​​​दैलेख – पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शमा ओलीले अहिलेको सरकारको काम गर्ने क्षमता, दक्षता नभएकाे आरोप लगाउनुभएको छ ।

जुम्ला र कालिकोट जाने क्रममा बिहीबार दैलेखको दुल्लुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले क्षमता र दक्षता दुबै नभएका कारण आफ्नो सरकारको पालामा अघि बढाइएका विकासे आयोजना समेत कटौती गरेको आरोप लगाउनुभएको हो । 

'मेराे सरकारले ग्रामीण भेगको विकासका लागि दुई सय १० वटा सडक शिलान्यास गर्‍याे तर अहिलेको सरकारको काम गर्ने क्षमता नहुँदा कटौती भयाे,’ उहाँले भन्नुभयो , ‘अहिलेको सरकारले ढंग नभएर, क्षमता नभएर, काम गर्ने सामर्थ्य नभएर कतिपय आयोजना काटेको छ । चुनावपछि एमालेले अहिलेको सरकारले काटेका विकासे योजनालाई अघि बढाउँछ, स्थानीय तहका मुकामसम्म पुग्ने सडक कालोपत्रे गर्छ ।' 

अध्यक्ष ओलीले आफ्नै सरकारका पालामा देशभर खरका छानामुक्त अभियान ल्याएको पनि बताउनुभयो । साे क्रममा दैलेखमा पनि धेरै नागरिकका घर खरका छानामुक्त भएर जस्तापाता लगाएकाे उहाँको भनाइ थियाे । उहाँले त्यसबेला बाँकी रहेका घरहरूमा जस्तापाता नपुगेको भए एमालेले पहल गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । 

अध्यक्ष ओलीले अहिले पनि केही व्यक्ति अन्य पार्टीमा रहेकाले एमालेले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको नारालाई आत्मसात गर्दै सबैलाई एमालेको देश बनाउने अभियानमा लाग्न आग्रह गर्नुभयो । ‘एमालेको चाहाना देशको विकास गर्ने राष्ट्रलाई माया गर्ने रहेकाले राष्ट्रप्रेमीहरू एमालेमा आउनुपर्छ,’ अध्यक्ष ओलीले भन्नुभयो । 

उहाँले दैलेखमा पेट्रोलियम पदार्थ रहेको भन्ने पुष्टी भएको र यहाँको मात्र नभई राष्ट्रको विकासमा टेवा पुग्ने बताउनुभयो  । दैलेखमा रहेका धार्मिक स्थलको विकास गर्दै पर्यटनका माध्यमबाट आम्दानी लिन सबै स्थानीय तह लाग्नुपर्ने बताउनुभयो । अध्यक्ष ओलीले दुल्लुमा एक हजार वर्षअघि नै नेपालको राजधानी रहेको इतिहासले पुष्टि गरेको दाबी समेत गर्नुभयो ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  १ : २४ बजे