सत्ता गठबन्धनको बैठक बस्दै​​​​​​​ : मुख्य एजेण्डा चुनावी तालमेल

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार गठबन्धन गर्ने निर्णय गरेसँगै आज सत्ता गठबन्धनको बैठक बस्दै छ ।

गठबन्धनका दल नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र जनता समाजवादी यसअघि नै स्थानीय तहको चुनावमा पनि गठबन्धन गर्नुपर्ने पक्षमा रहेका बेला काँग्रेसले पनि सोही अनुरूपको निर्णय गरेपछि अब तालमेलको मोडालिटी लगाइन लागिएको हो ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १०ः०० बजे बस्न लागेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो ।

वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन तय भएको छ ।  

काँग्रेस नेता प्रकाशमान सिंहले बुधवार काठमाडौँमा आयोजित कार्यक्रममा तालमेलका लागि मोडालिटी तय हुने बताउनुभएको थियो । तालमेल गर्न नहुने बताइरहेका काँग्रेस नेताहरूप्रति इङ्गित गर्दै उहाँले विशेष परिस्थितिमा गठबन्धन बनेकाले निरन्तरता हुने बताउनुभएको थियो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पनि बुधवार चितवनमा पत्रकारसँग कुरा गर्दै सत्ता गठबन्धनको बैठकले चुनावी तालमेल गर्ने निर्णय गर्ने बताउनुभएको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ७ : ४४ बजे