निर्वाचनका निम्ति ४ अर्ब बुझाउने जिम्मा अर्थमन्त्री शर्माले पाएका छन् : महेश बस्नेत

भक्तपुर – नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्रतिनिधिसभाका सदस्य महेश बस्नेतले निर्वाचनका निम्ति ४ अर्ब पैसा बुझाउने जिम्मा अर्थमन्त्री जनार्दन शर्माले पाएको खुलासा गर्नुभएको छ । 

आज भक्तपुरको सूर्यविनायकमा आयोजित सूर्यविनायक हरित कृषि तथा थोक बजार प्रा.लीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद बस्नेतले माओवादी केन्द्रले अर्थमन्त्री जनार्दन शर्मालाई निर्वाचनका निम्ति ४ अर्ब जम्मा पार्न निर्देशन दिएको खुलासा गर्नुभएको हो । सांसद बस्नेतले अर्थ मन्त्रालयले रड, डन्डी, सवारीसाधनको कर र आयल निगम तथा विद्युत् प्राधिकरणमा घोटाला गरेर अर्थतन्त्र टाट पल्टाउन वर्तमान गठबन्धनको सरकार लागेको आरोप समेत लगाउनुभएको छ । 

सांसद बस्नेतले प्रचण्ड र माधव नेपाल अहिले नेपाली कांग्रेसको पुच्छर बनेर हिँड्नु परेको बताउनुभयो । ‘भिखारीले कचौरा थापे जसरी प्रचण्ड र माधव नेपाल कांग्रेसको दैला बाहिर बसिरहेका छन्, कांग्रेस केन्द्रीय समितिले के निर्णय गर्छ भनेर बसिरहनु भएको छ ।’  प्रचण्डले सुरुमा ठुलो आश्वासन दिएर पूर्व जनमुक्ति सेनाको ऊर्जा, जोस जागरलाई उपयोग गरे र अन्तमा आतंकारी र अपराधीको बिल्ला भिडाएको बताउनुभयो । प्रचण्डले पहिला गिरिजाप्रसादको पाउमा क्रान्ति सुम्पिए अब फेरी शेरबहादुरको पाउमा सुम्पिँदै गरेको बताउनुभएको छ । 

सांसद बस्नेतले आउँदो स्थानीय तहको निर्वाचनमा भक्तपुरमा गठबन्धन नबनाए एक चौथाइमा सीमित पार्ने र गठबन्धन गरेर आए एक तिहाइमा झार्ने बताउनुभयो । उहाँले स्थानीय तहको निर्वाचनमा एमाले ३ गुणा मतले जित्ने दाबी समेत गर्नुभयो । 

कार्यक्रममा बोल्दै सांसद बस्नेतले डा. गोविन्द केसीले टिचिङ अस्पताल खोल्न नदिएर  विद्यार्थीहरूलाई विदेश जान बाध्य पारेको बताउनुभयो ।  उहाँले अहिले थुप्रै नेपाली विद्यार्थीहरू डाक्टर र नर्स बन्न वञ्चित भएको बताउनुभएको छ ।  सांसद बस्नेतले  वार्षिक रूपमा २२ अर्ब बजेट चिकित्सा शिक्षा अध्ययनको लागि बिदेसिएको बताउनुभयो ।  देशमा पढ्न नपाएर विद्यार्थीहरूलाई विदेश जान प्रोत्साहन गर्ने गोविन्द केसी नै रहेको बताउनुभयो । 

दुर्गा प्रसाईँले देशमा हजारौँलाई रोजगारी दिएका छन् तर मिडिया उहाँलाई नै बदनाम गर्न लागेको सांसद बस्नेतले बताउनुभयो ।  राष्ट्रको लागि खर्च गर्ने व्यक्तिलाई बदनाम गराएर उहाँको मनोबललाई कमजोर पारिँदै आएको छ ।  देशमा लगानी गरेर रोजगारी सिर्जना गर्ने व्यक्तिलाई बदनाम गरेर कुन दलाल, कुन माफिया, कुन नोकर शाहको सेवा गरिरहनुभएको छ ? भन्दै प्रश्न समेत गर्नुभएको थियो । 

एमालेमा प्रवेश गरेका पूर्व लडाकुहरूलाई देशव्यापी रूपमा व्यवस्थापन गर्ने सांसद बस्नेतले बताउनुभयो   । 

  

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ३ : ५१ बजे