दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

आयुर्वेदिक औषधालय सञ्चालनमा

तनहुँ । म्याग्दे गाउँपालिका–२ जामुनेस्थित आयुर्वेदिक औषधालय सञ्चालनमा ल्याइएको छ । उक्त आयुर्वेदिक औषधालयको गाउँपालिका अध्यक्ष मायादेवी रानाले उद्घाटन गरेपछि सञ्चालनमा ल्याइएको हो । 

विसं २००६ मा स्थापना भएको जामुने आयुर्वेदिक औषधालयको अहिले आफ्नै सुविधासम्पन्न भवन निर्माण गरेपछि स्थानीयवासीलाई सेवा लिन सहज भएको छ । 

सङ्घीय सरकारको बजेटबाट भवन निर्माण सम्पन्न गरिएको  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । कूल एक करोड ५८ लाख  ८८ हजार २३१ को लागतमा भवन निर्माण गरिएको हो । 

त्यसैगरी, गाउँपालिका मातहतका वडा नं ३ र ४ को नवनिर्मित दुई भवनको हालै उद्घाटनपश्चात् सञ्चालनमा ल्याएको छ । उक्त दुवै भवन ४५ लाख ३० हजार ९२४ का दरले  निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले बताउनुभयो । 

वडा कार्यालय भवन बनाउन निःशुल्क रुपमा आठ आना जग्गासहित पास खर्चसमेत व्यहोर्ने गरी स्थानीय कृष्णराज पण्डितले प्रदान गर्नुभएको हो । गाउँपालिकाका सबै वडा आफ्नै पालामा सम्पन्न गरेर उद्घाटन गर्ने सोच बनाए पनि कोभिड तथा ठेकेदारका कारण वडा नं ६ र ७ भवन निर्माण सम्पन्न गर्न नसकिएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ३ : ३० बजे