दुई अर्ब लगानीमा सूर्य विनायकमा तरकारी बजार, एमाले अध्यक्ष ओलीले आज उद्घाटन गर्नुहुँदै

भक्तपुर । भक्तपुरको सूर्य विनायकमा रु दुई अर्बको लगानीमा कृषि तथा तरकारी बजार सञ्चालनमा आएको छ । 

झण्डै ५० रोपनी क्षेत्रफलमा फैलिएको उक्त बजार अहिलेसम्मकै ठुलो हो । व्यवसायी दुर्गा प्रसाईँले ‘सूर्य विनायक हरित तथा कृषि थोक तरकारी बजार’ सञ्चालन गर्नुभएको हो । 

सूर्य विनायक र जगाती बीचको अरनिको राजमार्गसँगै जोडिएको सूर्य विनायक नगरपालिका–८ मा तरकारी बजार सञ्चालनमा ल्याइएको हो । बजारमा दुई हजार २०० कक्ष रहेका छन् । चार हजार ४०० जनालाई रोजगारी दिने तथा स्थानीय किसानको तरकारी उचित मूल्यमा खरिद गरी उपभोक्तालाई सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले बजार स्थापना गरिएको सञ्चालक प्रसाईँले बताउनुभयो ।

“किसानलाई उचित मूल्य दिन तथा बिचौलियाले ५० प्रतिशतसम्म नाफा खाने अवस्थाको अन्त्य गर्न तरकारी बजार सञ्चालन गरिएको हो”, उहाँले भन्नुभयो । तरकारी बजार स्थापनाबाट १० हजारभन्दा बढी किसानलाई फाइदा पुग्ने उहाँको दाबी छ ।  

तरकारी बजारको औपचारिक उद्घाटनको कार्यक्रम आज  हुदैछ  । उक्त तरकारी बजारकोउद्घाटन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ८ : ३४ बजे