‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

परमादेशीको उपहार लोडसेडिङदेखि पेट्रोलियम पदार्थको हाहाकार

सर्वोच्च अदालतको फैसलाबाट बनेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सरकार एक पछि अर्को असफलता तर्फ उन्मुख भएको छ । पटक पटक प्रधानमन्त्री बनेर अयोग्यको पगरी पाएका देउवा यस पटक पनि असफल र अयोग्य साबित हुँदै छन् । जति पटक प्रधानमन्त्री बने त्यति पटक विवादित र राष्ट्रघाती सम्झौता गर्ने देउवाले यस पटक यसअघिका आफ्ना सबै सरकारको रेकर्ड तोड्दै छन् ।

संसद्मा आवश्यक संसद् सङ्ख्यासमेत नहुँदा र प्रधानमन्त्रीको दाबीका लागि आवश्यक सांसद नहुँदा समेत सर्वोच्च अदालतको परमादेशबाट शासन सत्तामा पुगेका यी देउवा एमालेलाई अवैध तरिकाले विभाजन गरी सत्तामै छन् । एमसीसी प्रकरणले ढल्नै लागेको सरकार पनि माओवादी केन्द्र र समाजवादीसँग बार्गेनिङमा पास गर्न सफल भएका देउवा यत्तिखेर आरामले सत्तामै छन् । स्थिर र गतिशील सरकारको पक्षमा रहेका आम जनता पाँच दलको पञ्चमुखी सरकार आउला भनेर कल्पनामा समेत गरेका थिएनन् । अझ त्यसमाथि पनि अदालतबाट सरकार बन्ला भनेर कल्पनै नगरेका नेपाली जनता यही परमादेशी सरकारको साइड इफेक्ट यत्तिखेर भोग्न बाध्य भएका छन् ।

सरकारको नेतृत्व गरिरहेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र जसपाका अध्यक्ष उपेन्द्र यादव लगायतका दल मिलेर बनेको गठबन्धनको सरकारले सत्ता सम्हालेको लामो समयसम्म पनि कुनै जनउत्तरदायी कार्य गर्न सकेको छैन ।

 हिजो केपी ओली सरकारको पालामा सुधार भएका कयौँ अर्थतन्त्रका सूचकहरू यत्तिखेर खराब दिशामा पुगेका छन् । ओली सरकारका पालामा तीव्रताका साथ सुरु भएका कयौँ महत्त्वपूर्ण आयोजनाहरू यत्तिखेर सुस्त गतिमा अगाडी बढिरहेका छन् । जनताको मतबाट नभएर अदालतको आदेशबाट बनेको अहिलेको परमादेशी सरकारको पालामा देशको अर्थतन्त्र पुरै धराशायी र चौपट अवस्थामा पुगेको छ । देशमा अहिले तरलताको अवस्था उच्च बिन्दुमा पुगेको छ । परमादेश बाटै अर्थमन्त्रीको पद पाएका जनार्दन शर्मा अहिले अर्थतन्त्र सुधारका निम्ति के-कस्तो नीति अवलम्बन गर्ने बारे आफै रनभुल्लमा छन् । अर्थतन्त्र चौपट हुँदा देशको एक मात्र शेयर बजार दिनहुँ घट्दै गइरहेको छ भने दैनिक अर्बौँको घाट बेहोर्न लगानीकर्ताहरु बाध्य छन् । अर्थमन्त्री शर्माको दूरगामी दृष्टि नहुँदा अहिले अमेरिकी डलर र भारतीय रुपैयाँमा समेत कालोबजारी बढ्दै गएको छ । अहिले बजारमा एक अमेरिकी डलर बराबर १२५ रुपैयाँ र एक सय भारतीय रुपैयाँ बराबर १६५ नेपाली रुपैयाँ तिर्न व्यापारीहरू बाध्य भएका छन् ।

वर्तमान परमादेशी सरकारकै कारण यत्तिखेर मुलुक अन्धकार युगमा फेरी धकिलिँदै छ । अर्थात् मुलुकमा अघोषित लोडसेडिङ सुरु गरिएको छ । नेपालबाट सदा सदाको लागि लोडसेडिङ अन्त्य गरेको प्रचारबाजी गरेर वाहवाही कमाएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसमेत यत्तिखेर अक्क न बक्कमा छन् । देशमा रहेका कलकारखानाहरूले अहिले विद्युत् पाउन छोडेका छन् र उत्पादन समेत निरन्तर घट्दै गएको छ,जसको कारण विद्युत आयातमा उल्लेख वृद्धि हुँदै गएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ध्यान विद्युत् उत्पादन गर्नेतर्फ हुनुको सट्टा उनको ध्यान भारतबाट विद्युत् आयात गरेर बिचौलियाको काममा बढी केन्द्रीकृत हुँदा अहिले देशमा ऊर्जा सङ्कटको अवस्थामा पुग्न लागेको हो । आफ्नो इज्जतका लागि भारतबाट महँगो मूल्यमा (प्रति युनिट ३८ नेपाली रुपैयाँ)मा विद्युत् किनेर ल्याउने योजना पनि यत्तिखेर चौपट भएको छ । आवश्यक विद्युत् उत्पादन नगरेर भारतको भरमा र भारतबाट आयात गरेर बिजुली बाल्नु देशको अर्थतन्त्रमा नकारात्मक असर पर्नु स्वाभाविक थियो जसको कारण अहिले तरलता अभाव देखिएको छ । भारतबाट विद्युत आयात गर्दा दैनिक अरबौं रुपैयाँ भारत पलायन भएको छ । लोडसेडिङको आतङ्कले जनता त्रसित भइरहेकै समयमा उता नेपाल आयल निगमले समेत अब टाट पल्टिन लागेको सङ्केत गरिसकेको छ ।

निगमले आज एक विज्ञप्ति जारी गर्दै बढ्दो तेल घाटालाई कम गर्न अब हप्तामा दुई दिन जोर बिजोरको आधारमा सवारी चलाउने वा दुई दिन सार्वजनिक बिदा दिनु पर्ने प्रस्ताव अघि सारेको छ । यो अवस्था भनेको आलय निगम अब तेल किन्न सक्ने अवस्थामा नभएको पर्याप्त प्रमाण हो, स्वीकारोक्ति हो । बैङ्कहरूमा रकम अभाव, अर्थतन्त्रका सबै सूचांक खराब देखिनु, महँगी आकासिनु, लोडसेडिङ सुरु हुनु र तेलसमेत नपाइने अवस्थामा मुलुक पुगिसक्दा समेत वर्तमान पाँच दलीय गठबन्धनकारीहरू अझै आफूहरुलाई स्वघोषित क्रान्तिकारी र अग्रगमनकारी भएको भन्दै झ्याली पिट्नमै व्यस्त छन् ।

देश र जनता आर्थिक रूपमा टाट पल्टिने दिशातर्फ उन्मुख रहेको बेला यसको समाधान गर्नुको सट्टा प्रधानमन्त्री देउवा भने अब भारतको भ्रमण गर्ने तरखरमा छन्। भारत ,अमेरिका लगायत विभिन्न देशको साथ पाएर आफुले प्रधानमन्त्री बन्ने अवसर पाएको भन्दै गुण तिर्न प्रधानमन्त्री देउवा भारत भ्रमण गर्न आतुर छन् । देश गम्भीर अवस्थामा हुँदा समेत परमादेशीहरुको गाईजात्रा मञ्चन रोकिन छोडेको छैन, समस्याको सम्बोधन या सरकारबाटै बिदा हुनु पर्ने विकल्पबारे अझै पनि नसाेंची परमादेशीहरुले लामो समयसम्म पाँच दलीय गठबन्धन कायम गरेरै लुटको साम्राज्य जोगाउने नयाँ नयाँ जुक्ती बनाउन मै व्यस्त छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ५ : ५८ बजे