बाँकेमा सात तेस्रोलिङ्गी मतदाता

नेपालगञ्ज। आगामी स्थानीय तहको निर्वाचनमा  बाँकेका सात तेस्रोलिङ्गी मतदाताले मताधिकार  प्रयोग गर्ने भएका छन् । ती मध्ये नेपालगञ्ज उपमहानगरपालिकाकाका चार, कोहलपुर नगरपालिकामा एक, राप्ती सोनारी  र खजुरा गाउँपालिकामा एक÷ एक रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेका सूचना अधिकारी युवराज पन्तले जानकारी दिनुभयो । 

त्यसैगरी बाँकेमा  १८ वर्ष पूरा भएका कूल तीन लाख २९ हजार ४७३ ले मतदान प्रक्रियामा भाग लिनेछन् । तीमध्ये पुरुष एक लाख ६७ हजार ३४९ छन भने महिला एक लाख ६२ हजार ११७ रहेको कार्यालयले जनाएको छ । 

विसं २०७४ को स्थानीय निर्वाचनताका जिल्लामा दुई लाख ४६ हजार १०३ मतदाता रहेकामा यस वर्ष करिब ८० हजार मतदाता थपिएका जनाइएको छ । जिल्लामा मतदानस्थल १३६ र मतदान केन्द्र ३७९ छ । मतदाता सङ्ख्या बढेकाले ५२ मतदान केन्द्र पनि बढेको सूचना अधिकारी पन्तले बताउनुभयो । विसं २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । 

तेइस दललाई  चुनाव चिन्ह्न

जिल्लामा राष्ट्रिय मान्यता प्राप्त छ दलबाहेक साना २३ दल निर्वाचन कार्यालय बाँकेमा दर्ता भएका छन् । उनीहरुलाई निर्वाचन कार्यालयले चुनाव चिन्ह्नसमेत प्रदान गरेको छ । 

यस्ता साना दलमा राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, मौलिक जरोकिलो पार्टी, सामाजिक एकता पार्टी, उन्नत लोकतन्त्र पार्टी, जनजागरण पार्टी, नेपाल मजदुर किसान पार्टी, नेकपा मालेलगायत रहेको निर्वाचन कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ३ : ३० बजे