दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

छात्रवृत्ति वितरण

ओखलढुङ्गा।  ओखलढुङ्गाको रुम्जाटार माध्यमिक विद्यालयले अक्षयकोषको ब्याजबाट विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । 

जिल्लाको सिद्धिचरण नगरपालिका–४ स्थित रुम्जाटार माविले दाताको सहयोगमा स्थापना भएको अक्षयकोषको ब्याजबाट २७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । 

अक्षयकोषका दाता एवं प्रदेश नं १ का पूर्वमन्त्री अम्बिरबाबु गुरुङले विद्यार्थीलाई आज छात्रवृत्ति हस्तान्तरण गर्नुभएको हो । रुम्जाटार माविमा अक्षयकोष स्थापनार्थ पूर्वमन्त्री गुरुङले रु ३० लाख सहयोग गर्नुभएको थियो । दाताबाट प्राप्त रु ४३ लाख ६१ हजार २११ मार्फत सञ्चित दुई लाख ब्याज रकमबाट छात्रवृत्ति वितरण गरिएको रुम्जाटार माविका प्रधानाध्यापक गोकर्ण बानियाँले बताउनुभयो । 

एकल महिला घरमुली भएका छात्रछात्रा, कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्ने विद्यार्थी, कक्षा ९ देखि १२ सम्म सिभिल इञ्जिनीयरिङ पढ्दै गरेका विद्यार्थी तथा कक्षा ११ र १२ का गरिब तथा जेहेन्दार छात्रछात्रालाई विद्यालयले छात्रवृत्ति प्रदान गरेको छ ।

सो अवसरमा २०७८ को माघ महिनामा लिएको अर्धवार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पनि पुरस्कार वितरण गरिएको थियो । विद्यालयले आर्थिक वर्ष २०७७÷७८ को सामाजिक लेखापरीक्षण पनि सार्वजनिकीकरण गरिसकेको छ । 

कार्यक्रममा पूर्वमन्त्री तथा सांसद गुरुङले विद्यार्थी देशको भविष्य भएकाले शिक्षामा गरिने लगानी फलदायी हुने बताउनुभयो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिसँगै भौतिक विकासका लागि आफूले निरन्तर सहयोग गर्ने उहाँले बताउनुभयो । रुम्जाटार मावि जिल्लाको प्रतिष्ठीत नमूना विद्यालय हो । पूर्वी पहाडका ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, उदयपुर र सिन्धुली जिल्लाकासमेत विद्यार्थी अध्ययानका लागि आउने गरेका छन् । रासस

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  १ : १३ बजे