औद्योगिक क्षेत्रमा आपत्कालीन लोडसेडिङ सुरु

काठमाडौं- महँगो मूल्यमा खरिद गर्न खोज्दासमेत भारतीय इनर्जी एक्सचेन्ज (आइइएक्स) बजारमा विद्युत् उपलब्ध नहुँदा नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा आपत्कालीन लोडसेडिङ सुरु गरेको छ ।

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार प्राधिकरणले प्रतियुनिट २० रुपैयाँ भारु (भ्याट र अन्य शुल्कसहित ३८ रुपैयाँ) बोलकबोल गर्दासमेत विद्युत् प्राप्त गर्न सकेको छैन ।

विद्युत् प्राप्त नभएपछि उद्योगहरूमा अधिकतम आठ घण्टासम्म विद्युत् कटौती भएको छ । यो आपत्कालीन लोडसेडिङ भएको र विद्युत् प्राप्त हुनेबित्तिकै उद्योगलाई पनि उपलब्ध गराउने प्रवक्ता भट्टराईको भनाइ छ ।

यसअघि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब लोडसेडिङ कहिल्यै नहुने बताएका बताउनुभएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ७ : ३५ बजे