हेलिकप्टर चढेर प्रचण्डद्वारा रोल्पामा भ्यूटावरको उद्घाटन

रोल्पा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले रोल्पामा चार करोड रुपैयाँमा निर्माण सम्पन्न भएको भ्यूटावरको उद्घाटन गरेका छन् ।

सोमबार बिहान हेलिकप्टर चढेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पा नगरपालिका–२ सातदोबाटोमा नगरपालिकाले बनाएको भ्यूटावरको उद्घाटन गरेका हुन् । पर्यटन प्रवर्द्धनको नाममा दुई हजार ५५ मिटर उचाइमा बनेको भ्यूटावर ११२ फिट अग्लो  छ ।

शिक्षा, स्वास्थ्य, रोजगार र पूर्वाधार विकासमा पछि परेको रोल्पामा चार करोड ७६ लाख ८७ हजार ६६५ रुपैयाँ खर्च गरेर भ्यूटावर बनाइएको छ । विकासका नाममा भत्काइएका उजाड डाँडामा बनेको भ्यूटावरको दसौँ तला चढेर प्रचण्डले प्युठानको माडी उपत्यका र पूर्वी रोल्पाको दृश्य हेरेका थिए ।  

रोल्पा नगरपालिकाको प्रमुखमा कृष्णबहादुर महराका ज्वाइँ पूर्ण केसी र उपप्रमुख वर्षमान पुनकी बहिनी मनकुमारी घर्तीमगर छन् । 

जनयुद्धले थिलथिलो भएको रोल्पा विकासमा निकै पछाडि परेको छ । जिल्लामा रहेका ४०७ सामुदायिक विद्यालय मध्ये २०० विद्यालयमा अहिले शिक्षक दरबन्दी शून्य छ । यहाँ ६७ हजार ९८८ विद्यार्थी अध्ययन गर्छन् भने विद्यालयहरू अभिभावकको भरमा चलेको छ । यहाँको स्वास्थ्य क्षेत्र पनि  उदेक लाग्दो छ । २५ हजार रोल्पालीको भागमा एक जना मात्र डाक्टर छन् ।

सामाजिक–आर्थिक तथा अन्य दृष्टिलेसमेत रोल्पा पछाडी परेको छ । रोल्पामा गरिबको सङ्ख्या ५७ हजार ५०४ छ भने धेरै ठाउँमा सडक सुविधा समेत छैन । खनिएका सडकहरु पनि कच्ची छन् । तर पर्यटन प्रवर्द्धनको नाममा प्राकृतिक रूपमै भ्यूटावर जस्ता अग्ला डाँडामा कङ्क्रिटका भ्यूटावर बनाउने प्रतिस्पर्धा चलिरहेको छ ।

शिक्षा, स्वास्थ्य, स्वरोजगार जस्ता विषयलाई प्राथमिकता दिएर योजना बनाउनुको साटो भ्यूटावरमा खर्च गरिएको छ ।रोल्पा माओवादी सशस्त्र विद्रोहको केन्द्र थियो। राज्य सत्तामा आमूल परिवर्तनको नारा दिएर सुरु भएको सशस्त्र हिंसा दश वर्षसम्म चल्यो जसमा रोल्पाबाट ९६९ जना मारिए, ३३ जना अझै बेपत्ता छन् । जसमा घरबारविहीन, घाइते तथा अपाङ्ग हुनेको कुनै हिसाब छैन ।

रोल्पामा शिक्षा, स्वास्थ्यको अवस्था कहालीलाग्दो भए पनि तीनै थरी सरकारको चासो पर्यटनमा देखिएको छ । सशस्त्र युद्धका १० वर्ष मध्ये ११ महिना प्रचण्ड रोल्पामा बसेका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ३ : ०९ बजे