तनहुँमा थपिए ५० हजार मतदाता

तनहुँ । तनहुँमा झन्डै ५० हजार मतदाता थपिएका छन् । पछिल्लो पाँच वर्षमा ४९ हजार ८६९ मतदाता थपिएका हुन् । 

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लामा एक लाख ९४ हजार ४७१ मतदाता थिए ।

निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको लागि आइतबार अन्तिम मतदाता नामावलीको टुङ्गो लगाएको छ । 

जिल्ला निर्वाचन अधिकृत हरिप्रसाद ढकालका अनुसार तनहुँमा कुल दुई लाख ४४ हजार ३४० जनाको नामावली सार्वजनिक भएको छ । जसमध्ये एक लाख १७ हजार १३४ पुरुष र एक लाख २७ हजार २०६ महिला मतदाता रहेका छन् । 

एक लाख चार हजार ३२७ महिला र ९० हजार १ सय ४४ पुरुष गरेर २०७४  मा भएको स्थानीय तहको निर्वाचनमा एक लाख ९४ हजार ४७१ मतदाता थिए । ६१ हजार ५२७ मतदाता मतदानमा सहभागी नै भएनन् । एक लाख ३२ हजार ९ सय ४४ मत गत स्थानीय निर्वाचनमा खसेको हो । त्यसमा पनि तीन हजार १सय५४ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ  ।

२०७४ सालमा भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमै जिल्लामा २० हजार ९ सय ७५ मतदान गर्न योग्य मतदाता थपिए ।

गत २४ माघसम्म जिल्लामा मतदाता नामावली सङ्कलन भइरहेको थियो । दुई लाख ४७ हजार ७ सय५ जना मतदान गर्न योग्य भएको मतदाताको विवरण निर्वाचन आयोगमा पठाइएको जिल्ला निर्वाचन अधिकृत ढकालले बताउनुभयो। 

“२९ वैशाखसम्म १८ पुरा भई मतदान गर्न योग्य मतदाताको विवरण आयोगमा पठाइएको थियो । त्यसमध्य तीन हजार ३ सय६५ जना कमको अन्तिम मतदाता नामावली सार्वजनिक भएको छ । के कारणले फरक पर्‍यो आयोगसँग बुझ्दैछौँ” उहाँले भन्नुभयो ।

जिल्लाका १० स्थानीय तहमा सबैभन्दा धेरै मतदाता व्यास नगरपालिकामा र कम देवघाट गाउँपालिकामा रहेको ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार व्यासमा ४७ हजार ५ सय ४२ छन् भने देवघाटमा १२ हजार ८ सय १५ रहेका छन् ।

मतदाता बढेसँगै जिल्लामा मतदान केन्द्रको सङ्ख्या पनि थप गरिएको छ । यसपालि जिल्लाका १० स्थानीय तहमा २ सय ९७ मतदान केन्द्र हुनेछन् । मतदान स्थलको सङ्ख्या भने घटबढ भएको छैन । अघिल्लो निर्वाचनमा १सय३६ मतदान स्थल र २ सय५२ मतदान केन्द्र थिए ।

तोकिए निर्वाचन अधिकृत
​​​​​​​सरकारले घोषणा गरेको मितिमा स्थानीय तहको निर्वाचन हुन अब ४७ दिन बाँकी छ । राजनीतिक दल जनताको घर चाहर्दै छन् । निर्वाचन आयोग र जिल्ला निर्वाचन कार्यालय पनि तयारीमा जुटेका छन् ।

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचन सम्पन्न गराउन मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानालाई तोकिएको छ । उहाँले सदरमुकामस्थित व्यास नगरपालिकाको निर्वाचन अधिकृतको जिम्मा पनि बहन गर्नेछन् ।

शुक्लागण्डकी नगरपालिकामा सत्य निरूपण तथा मेलमिलाप आयोगका उपसचिव सरिता रायमाझी, भिमाद नगरपालिकामा जिल्ला सरकारी वकिल कार्यालय तनहुँका महान्यायाधिवक्ता रामचन्द्र शर्मा र भानु नगरपालिकामा जिल्ला अदालत तनहुँका स्रेस्तेदार मीनबहादुर कुँवर निर्वाचन अधिकृत तोकिएका छन् ।

देवघाट गाउँपालिकामा तनहुँका जिल्ला समन्वय अधिकारी थमन सिंह थापा, आँबुखैरेनी गाउँपालिकामा तनहुँका प्रमुख मालपोत अधिकृत चिरञ्जीवी पौडेल, ऋषिङ गाउँपालिकामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव राजेन्द्र न्यौपाने, घिरिङ गाउँपालिकामा हुलाक निर्देशनालय पोखराका प्रमुख किर्तनराज पौडेल, बन्दीपुर गाउँपालिकामा राष्ट्रिय सूचना आयोगका उपसचिव विश्वबन्धु पौडेल र म्याग्दे गाउँपालिकामा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका उपसचिव नवराज आचार्यले निर्वाचन अधिकृतको जिम्मा पाएका छन् । 

 

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ७ : ४२ बजे