राजदूतावास नहुँदा नेपाली श्रमिकहरूलाई गाह्रो !

माल्दिभ्स । मालदिभ्स सार्क क्षेत्र भित्रको मुलुक हो । यहाँको रोजगारी र आम्दानीको मुख्य स्रोत पर्यटन र माछा उद्योग हो । यिनै क्षेत्रमा काम गर्न नेपाललगायत अन्य केही देशका श्रमिकहरू यहाँ आउने गर्दछन् । संसारभरिका पर्यटकहरूको त यहाँ घुइँचो नै लाग्ने गर्दछ । यहाँ प्रवेश अनुमति पाएका र सो अवधि सकिई बसेका गरी १० देखि १५ हजारको बीचमा नेपाली रहेको अनुमान छ ।  

यहाँ नेपालीहरूको आउजाउको इतिहास किटानी साथ भन्न नसकिए पनि आउजाउको इतिहास २२—२५ वर्ष जति पुरानो होला । यहाँ श्रम गर्न आउने नेपालीहरू धेरैजसो होटल क्षेत्रमा काम गर्दछन् भने घरेलु श्रमिक र माछा कम्पनीहरूमा पनि कार्यरत रहेका छन् । होटल उद्योगमा सुविधा राम्रो हुन्छ । अन्यत्र होटलमा जस्तो सुविधा हुँदैन । 

यहाँ नेपालीहरूलाई  हेप्ने प्रवृत्ति पनि छ । यसो हुनुको पछाडि यहाँ नेपालको राज्य प्रतिनिधि (राजदूत) नहुनु हो र यहाँ नेपाल र नेपाली सम्बोधन हुने गरी दुई देशबीच  त्यस्तो केही काम नहुनु पनि हो । नजिकको देश भएर पनि सार्क आदि क्षेत्रीय मञ्चमा सँगै हुनुबाहेक माल्दिभ्ससँग नेपालको अन्य दुई पक्षीय सम्बन्धहरू रहेको देखिँदैन । 

यहाँ राजदूतावास नहुँदा कोभिड—१९ को महामारीको समयमा यहाँ कार्यरत नेपालीहरूलाई नेपाल जान समेत अत्यन्तै असहज भएको थियो । जब जब भारतसँग माल्दिभ्सको सम्बन्ध बिग्रन्छ, तब तब भारत हुँदै नेपाल जानुपर्ने भएकोले नेपालीहरूलाई पनि असहज हुने गर्दछ । सार्क क्षेत्रको देश भएर पनि यहाँ आउन नेपालकै कारणले गर्दा गाह्रो हुने गरेको छ । यहाँ राजदूतावास छैन भन्ने जान्दाजान्दै पनि श्रम स्वीकृति लिन जाँदा श्रम कार्यालयले राजदूतावासको छाप लगाएको कागजपत्र माग गरेर दुःख दिन्छ । यसले गर्दा धेरै नेपालीहरूले यहाँ पाएको कामको अवसर गुमाउन र गरिरहेको कामबाट समेत वञ्चित हुनुपरेको छ । यहाँ काम गरेका र यहाँको भोगाइ भोगेका नेपालीहरूले यहाँ नेपाल राज्यको प्रतिनिधि (राजदूत) पाउन सके यहाँ कामका धेरै अवसर लिन सकिने, काम गर्दै गरेकाहरूको सुविधा बढाउन सकिने र आइपर्ने असहजता कम गर्न सकिन्थ्यो । 

नेपाली दूतावास नहुँदा यहाँ श्रम गर्न आएका नेपालीहरू टुहुराजस्ता बनेका छन् । आम रूपमा नदेखिए पनि केही जटिलता अवश्य छन् । यहाँ नेपाली श्रमिकहरूले भोगिरहेका समस्यामध्ये समयमा पारिश्रमिक नपाउने, बिदाको सुविधा नपाउने, तोकिएको समयभन्दा शतप्रतिशतसम्म नै बढी काम लगाउने तर अतिरिक्त समय ( Over time) काम गरेको थप पारिश्रमिक नदिने आदि समस्या रहेका छन् । विदेशमा रहेका नेपालीहरूप्रति नेपाल सरकार संवेदनशील हुनुपर्दछ, यसका लागि यहाँ राजदूतावास स्थापना गर्न आवश्यक छ । यसो हुन सक्दा थप नेपालीहरूले यहाँ रोजगारीको अवसर पाउने र रोजगारीमा रहेकाहरूले थप सुरक्षाको अनुभूति गर्न सकिन्छ भने माल्दिभ्सका जनताका बीचमा नेपाल चिनाउन र पर्यटन प्रवर्द्धन गर्न सकिन्छ ।  

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ९ : ३५ बजे