निर्वाचन  आयोगद्वारा ६ सय ७६ निर्वाचन अधिकृत नियुक्त 

काठमाडौँ । आगामी ३० वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

जिल्ला न्यायाधीश तथा नेपाल सरकारका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत स्तरका ६ सय ७६ जनालाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको रूपमा नियुक्त गरेको हो  । 

आगामी २९ चैतदेखि जिम्मेवारी लागू हुने गरी न्यायाधीशलगायत ६ सय ७६ जनालाई नियुक्त गरिएको आयोगले जनाएको छ ।

“निर्वाचन अधिकृतमा नियुक्त कर्मचारीको कार्यरत कार्यालयको ठेगाना सरुवा वा अन्य कुनै कारणले फरक परेको भए हाल कार्यरत कार्यालयले नै ब्यहोरा अवगत गरी खटाई पटाइदिन” समेत आयोगले निर्देशन दिएको छ ।

यसरी नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्वाचन व्यवस्थापन अभिमुखीकरण तालिमका लागि चैत ३० गते विराटनगर, धुलिखेल, पोखरा, नेपालगन्ज तथा वैशाख २ गते जनकपुर, हेटौडा, बुटवल र धनगढीमा तालिमको कार्यक्रम समेत तय गरिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ८ : ५३ बजे