सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

हेटौँडा मेयर कप रेपिड चेसको उपाधि फिडेमास्टर भण्डारीलाई

​​​​​​​हेटौँडा । हेटौँडा मेयर कप रेपिड चेस प्रतियोगिताको उपाधि फिडेमास्टर क्षितिज भण्डारीले जितेका छन् । 

नेपाल खेलकुद महासङ्घ (नेकोस) र बागमती प्रदेश बुद्धिचाल सङ्घको संयुक्त आयोजनामा शनिवार हेटौँडामा सम्पन्न प्रतियोगिताका सात खेलमा पाँचमा जीत तथा दुईमा बराबरी गरेका क्षितिजले ६ अङ्क बनाउँदै नगद ५० हजार रुपैयाँ समेत प्राप्त गरे । 

पाँचौँ तथा सातौँ चरणमा क्रमशः झापाका प्रकाश नेपाल र फिडेमास्टर मनिष हमालसँग बराबरीको नतिजा आत्मसात् गरेका क्षितिजले छैटौँ चरणमा फिडेमास्टर रुपेश जयसवालमाथि जीत हात पारेका थिए ।

झापाका प्रकाश र धनकुटाका सुमन श्रेष्ठलाई टाई ब्रेकरमा पछि पार्न सफल भएका क्यान्डिडेटमास्टर कृष्ण थापाले दोस्रो हुँदै २५ हजार नगद हात पारे । समान ५ दशमलव ५ अङ्क बनाएका प्रकाश तेस्रो र सुमन चौथो स्थानमा रहँदै क्रमशः १५ हजार र १० हजार नगद हात पार्न सफल रहे । फिडेमास्टर मनिष हमाल सात खेलबाट पाँच अङ्क बनाउँदै पाँचौँ  स्थानमा रहेर १० हजार नगद प्राप्त गरे । त्यसैगरी समान पाँच अङ्क बनाएका फिडेमास्टर रुपेश जयसवाल, झापाका राजन सुवेदी र प्युठानका श्रीकृष्ण श्रेष्ठ क्रमशः छैटौँ, सातौँ र आठौँ हुँदै सात–सात हजार नगद हासिल गरे ।

समान ४ दशमलव ५ अङ्क बनाएका झापाका सुश्रुत दाहाल नवौँ र दोलखाका आशिष फुयाँल १०औँ हुँदै सात–सात हजार नगद प्राप्त गरे । समान ४ दशमलव ५ अङ्क बनाउँदै धनुषाका सुशील चौधरी, तीन पटकका राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपाली, चितवनका सन्तोष गौतम, काठमाडौँका पुरुषोत्तम सिलवाल र बाराका निर्मल सापकोटा क्रमशः एघारौँ देखि पन्ध्रौँ स्थानमा रही पाँच–पाँच हजार नगद हासिल गर्न सफल भए ।

पूर्व राष्ट्रिय महिला च्याम्पियन सिन्दीरा जोशी महिला खेलाडी मध्ये अब्बल हुँदै नगद ५ हजार प्राप्त गरिन भने रामेछापका विमल सुवेदी अनरेटेडतर्फ पहिलो हुँदै ५ हजार नगद हात पारे । 

त्यसैगरी काठमाडौँका विजय टमाटा (१०००–१२९९), रुपन्देहीका चमन गाहा मगर (१३००–१४९९), चितवनका जुनानाथ सापकोटा (१५००–१६९९) र मकवानपुरका बलराम संजेल (१७००–१८९९) रेटिङ क्याटागोरीतर्फ पहिलो हुँदै पाँच–पाँच हजार नगद हासिल गर्न सफल भए ।

प्रतियोगितामा विजयी खेलाडीहरूलाई बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेल, नेपाल बुद्धिचाल सङ्घका अध्यक्ष एकालाल श्रेष्ठ, नेपाल खेलकुद महासङ्घका सङ्गठन विभाग प्रमुख दीपेन्द्र दाहाल लगायतले पुरस्कार वितरण गरे । 

हेटौँडा उपमहानगरपालिकाको प्रायोजनमा सम्पन्न दुई दिने प्रतियोगितामा विभिन्न जिल्लाका ३ महिला समेत ५२ जना खेलाडीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ८ : १० बजे