देशको पहाडी भू–भागमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ  । देशको प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने भएको छ ।

‘प्रतिमनसुन’को समय भएकाले पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रतिमनसुनका अवधिमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझपख पहाडी भू–भागमा मेघ गर्जन, चट्याङसहित फाटफुट वर्षा हुने गर्दछ । मौसमविद्का अनुसार अङ्ग्रेजी महिना मार्चदेखि सुरु हुने प्रतिमनसुन मेसम्म चल्ने भएकाले पहाडी भेगको मौसम अपराह्न तथा साँझपख प्रभावित भइरहन्छ । 

पहाडी भेगमा प्रतिमनसुनको प्रभाव देखिए पनि अन्य स्थानमा भने त्यसको असर पर्ने छैन । उक्त समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने हुन्छ । 

विभागका अनुसार राति प्रदेश न १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव तीन डिग्री र अधिकतम तापक्रम ३०  दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । 

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम तीन दशमलव सात डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम ३५ दशमलव सात डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ८ : ०४ बजे