तनहुँका मांग्रेसलाई यस पटक सबक सिकाउनपर्छ : नेता जोशी

तनहुँ । नेपाली काँग्रेसका नेता तथा पूर्व गृह मन्त्री गोविन्दराज जोशीले यस पटक तनहुँमा माओवादी र काँग्रेसको गठबन्धनलाई सबक सिकाउनुपर्ने बताउनुभएको छ । 

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा जिल्लामा आउँदा केही छद्मभेषी काँग्रेस नेताहरूले वास्तविक समस्या नभनी बाहिर बाहिर आफूसँग मिल्ने कुरा गरेको भन्दै उहाँले अब उनीहरूलाई सबक सिकाउने चेतावनी दिनुभएको हो । 

काँग्रेसले अनुशासनको कारबाही गरेपछि जिल्लामा अलग्गै समूह बनाएर बस्नुभएका जोशीले पार्टीका मान्छेहरूलाई लखेटेर माओवादी र नेकपा एससँग मिल्ने काँग्रेसले त्यसको राजनीतिका मूल्य तनहुँमा चुकाउनुपर्ने चेतावनी दिनुभएको हो । 

उहाँले रामचन्द्र पौडेल समूहलाई मांग्रेस(माओवादी– काँग्रेस) को संज्ञा दिँदै यसको मूल्य चुकाउन तयार रहन चेतावनी दिनुभएको हो । काँग्रेसमा नेता पौडेल नेकपा एस र माओवादीसँग गठबन्धनको पक्षमा छन् ।

जोशीले फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै भन्नुभएको छ, “बाहिर चिया पसल मा जोशीसँग मिल्नुपर्छ भन्ने तनहुँका छद्मभेषी नेताहरूको अनुहार नाङ्गिएको छ। पार्टी को सभापति जिल्ला आउँदै गर्दा तनहुँ काङ्ग्रेसको समस्या नभन्ने तर मैले बाहिर भने भन्दै हिड्नेहरुलाई यस पटक नराम्रो सबक सिकाउन पर्ने छ। यसपालि मांग्रेस (माओवादी काँग्रेस) लाई होइन सच्चा काँग्रेसलाई जिताउनुपर्ने भएको छ। समाजवादी र माओवादीसँग मिल्ने तर जोशीलाई जसरी भए पनि पर लखेट्ने राजनीतिको मूल्य तनहुँले चुकाउनु पर्ने छ।”

 

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  १२ : ३३ बजे