उपाध्यक्ष पौडेलसहितको प्रतिनिधिमण्डल स्वदेश फिर्ता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको एमालेको प्रतिनिधिमण्डल चीनको चार दिने भ्रमण सकेर शुक्रवार स्वदेश फर्किएको छ ।

चीनको कुन्मिङमा आयोजित एक कार्यक्रममा सहभागी भएर सो प्रतिनिधिमण्डल शुक्रवार राति स्वदेश फर्किएको हो । सो प्रतिनिधिमण्डल गत सोमबार चीन गएको थियो ।

उपाध्यक्ष पौडेल नेतृत्वको चार सदस्यीय प्रतिनिधिमण्डल चीनको कुन्मिङमा आयोजना भएको ‘इकोनोमिक कोअपरेशन एन्ड कल्चरल एक्सचेन्ज’ कार्यक्रममा सहभागी भएको थियो ।

सो प्रतिनिधिमण्डलमा उपाध्यक्ष पौडेलसहित स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्पराज कँडेल र केन्द्रीय सदस्य मीना रखाल हुनुहुन्थ्यो ।

स्वदेश फर्किएपछि उपाध्यक्ष पौडेलले सो कार्यक्रममा नेपालका तर्फबाट धारणा राखेको प्रतिक्रिया दिँदै उहाँले नेपाल चीन बीचको सांस्कृतिक आदानप्रदानमा भ्रमण फलदायी भएको बताउनुभयो । 

उपाध्यक्ष पौडेलले नेपालको विकासका विविध पक्षका साथै आर्थिक सामाजिक सहयोगमा चीनले सकारात्मक भूमिका निर्वाह गरिरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताउनुभयो । 

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  १२ : २५ बजे