साफ यू–१७ च्याम्पियनसिप आजदेखि

चन्द्रमा दोषी हुन्छ र ?

चन्द्रमा त जहिल्यै पूर्ण हुन्छ ।
धर्तीबासीले यसलाई खुँडे देख्छन्,
आधा देख्छन्,
र जुनदिन देखिंनँ भन्छन्,
आफै औँसीको कालोमा फस्छन् ।

खुँडे वा आधा हुन्थ्यो,
वा सकिएकै हुन्थ्यो भने
फेरि कसरी झलमल्ल
पूर्णिमा बनेर आउन सक्थ्यो होला र…?
ऊ सधैँ सिङ्गो अस्तित्वमै रहन्छ,
देख्नु नदेख्नु हाम्रै जिम्मा !

ऊ सधैँ निर्भीक रहन्छ,
र त सिङ्गै धर्तीलाई एक्लै
पार गरिदिन्छ रातमै पूर्वबाट पश्चिम ।

पर बसेर हेर्ने ताराहरूको
उसलाई कुनै भरोसा छैन,
त्यसैले उसलाई उनीहरूको
कुनै पर्बाह पनि छैन ।

ऊ अँध्यारैमा आफ्नू बाटो तय गर्छ ।
मान्छेले खुँडे, वा आधा देख्नुमा
वा देख्दै नदेख्नुमा
​​​​​​​के चन्द्रमा स्वयम् दोषी हुन्छ र ??

 

(रचनाकार मेची बहुमुखी क्याम्पस, भद्रपुर, झापामा प्राध्यापन गर्नुहुन्छ ।)

 

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ८ : ४३ बजे