देउवाको ‘बालुवाटार टू चन्द्रागिरि यात्रा’ : हेलिकोप्टर खर्च मात्रै १० लाख

​​​​​​​काठमाडौं । प्रधानमन्त्री  शेरबहादुर देउवाले बालुवाटारबाट चन्द्रागिरिसम्म प्रयोग गरेको हेलिकप्टर खर्च   १० लाख रुपैयाँ भएको छ । ३५ मिनेटमा पुग्न सकिने बाटोमा देउवाले प्रयोग गरेको नेपाली सेनाको हेलिकप्टर भाडा राज्य कोषबाट व्यहोरिने छ । 

वन तथा वातावरण मन्त्रालयद्वारा काठमाडौंको चन्द्रागिरिमा  आयोजित ‘दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलन’को उद्घाटन गर्न बुधबार प्रधानमन्त्री देउवा चन्द्रागिरि पुगेका थिए । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छ, कार्यालय सिंहदरबारमा, जहाँबाट चन्द्रागिरि नगरपालिकास्थित चन्द्रागिरि हिल्सबीचको दूरी १० देखि १२ किलोमिटर मात्रै छ ।

यती नजिकको दुरीमा जान पनि प्रधानमन्त्री देउवाले सेनाको एनए ०५८ कलसाइनको एलएलएच (लाइट लिफ्ट हेलिकप्टर) हेलिकोप्टर चढेका थिए । 

सैनिक विमान सशुल्क कार्यविधि २०७७ अनुसार १ साउन २०७७ देखि लागू भएको शुल्कअनुसार हेलिकप्टरको भाडा शुल्क ९ लाख ४० हजार ३५ रुपैयाँ हुन आउँछ ।

सैनिक विमान सशुल्क कार्यविधि २०७७ मा एलएलएच (लाइट लिफ्ट हेलिकोप्टर) हेलिकोप्टरको भाडा दर प्रतिघण्टा २ लाख ५३ हजार ५४५ रुपैयाँ तोकिएको छ ।

यो भाडामा हवाई इन्धन शुल्क २६ हजार, नागरिक उड्डयन प्राधिकरण शुल्क १ हजार १००, अक्युपेशनल भत्ता ३ हजार २००, उडान भत्ता २९ हजार ५०० गरी ३ लाख १३ हजार ३४५ रुपैयाँ हुन आउँछ।

प्रधानमन्त्री देउवा कार्यक्रममा जाँदा हेलिकप्टर झन्डै तीन घण्टा प्रयोग भएको थियो। सोही अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई हेलिकप्टरको भाडा शुल्क ९ लाख ४० हजार ३५ रुपैयाँको बिल पठाइए  सैनिक हवाई महानिर्देशनालय स्रोतले बतायो । 

सम्मेलनमा विश्वका १३ मुलुकका २०० जनाको सहभागिता थियो। तीमध्ये सय जना भौतिक रूपमा र बाँकी सय जना भर्चुअल माध्यमबाट सहभागिता जनाएका थिए । यही कार्यक्रममा प्रधानमन्त्री देउवाले भने करिब तीन घण्टा बिताएका थिए ।  वर्तमान सरकारले फजुल खर्चमा रेकर्ड नै तोडेको आरोप लागिरहेको बेला बुधबार देउवा झन् बालुवाटारबाट हेलिकप्टर चढेर चन्द्रागिरि पुगेका थिए । 

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  १ : ५८ बजे