एमाले बैठकका दुई अडान : सभामुखको राजीनामा वा १४ सांसदको पदमुक्तको सूचना टाँस

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई दुई वटा सन्देश दिएको छ ।

बबरमहलस्थित कार्की ब्यांक्वेटमा बुधवार र बिहीबार बसेको बैठकबाट एमालेले निष्कासित गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गरिएको सूचना टाँस गर्नुपर्ने, नभए राजीनामा दिएर बाहिरिनुपर्ने भन्ने औपचारिक रूपमा नै दुई वटा सन्देश दिएको हो । 

“हाम्रो पार्टी प्रस्ट छ– प्रतिनिधिसभा पुनर्स्थापना गर्ने २८ असार २०७८ को परमादेशप्रति गम्भीर असहमतिका बाबजुद हामी सदनलाई नियमित सञ्चालन र प्रभावकारी बनाउन चाहन्छौँ । र, त्यसैगरी प्रस्तुत पनि भइरहेका थियौँ”,  एमाले बैठकले पारित गरेको दस्ताबेजमा भनिएको छ, “तर यसका लागि या त १४ सांसदहरूको कारबाहीको सूचना सभामुखले टाँस गर्नुपर्छ या निजले पदबाट राजीनामा दिनुपर्छ ।”

एमालेबाट निष्कासन गरिएका माधवकुमार नेपाल, बेदुराम भुसाल, प्रेम आले, रामकुमारी झाँक्री, विरोध खतिवडालगायत १४ सांसदलाई पदमुक्त गरिएको सूचना टाँस नगरेसम्म प्रतिनिधिसभा बैठकलाई निरन्तर अवरोध गरिरहने पनि बैठकले सन्देश दिने देखिएको छ ।

गत २५ साउनमा एमाले १४ जना सांसदहरू माथि कारबाही गरिएको भन्दै सभामुखलाई १ भदौमा जानकारी गराएको थियो । तर, सभामुख सापकोटाले उक्त लिखित जानकारी दिँदा पनि पदमुक्तको सूचना टाँस नगरेको भन्दै २३ भदौबाट निरन्तर संसद्मा अवरोध गर्दै आएको छ ।

माओवादी केन्द्रले कारबाही गरेका सांसदहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साहलगायतलाई तथा जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई सम्बन्धित पार्टीले कारबाहीको जानकारी गराए लगत्तै पदमुक्तको सूचना सभामुख सापकोटाले टाँस गरेको, तर एमालेले जानकारी गराउँदा पनि पदमुक्त नगरेको भन्दै सभामुख सापकोटासँग एमाले आक्रोशित हुँदै आएको छ ।

एमालेलाई विभाजन गरी छाडने दुराशयका साथ, विगतमा आफैँले स्थापित गरेको नजिरको समेत बर्खिलाप गएर, दोहोरो मापदण्ड अपनाउँदै सभामुखबाट उक्त सूचना प्रकाशन गर्न अस्वीकार गरेको एमाले बैठकको निष्कर्ष छ । 

“यसैको जगमा टेकेर निर्वाचन आयोगले एमालेबाट अलग भएर निस्किएको समूहलाई नयाँ दलका रूपमा दर्ता गर्‍यो, सभामुखको यस्तै विभेदकारी, असंवैधानिक र असंसदीय भूमिकाको विरोधमा एमाले संसदीय दलको निर्णयअनुसार गत २३ भदौदेखि हाम्रा पार्टीका सांसदहरूले वेल घेराउ गरेर विरोध गरिरहनु” परेको एमालेको तर्क छ । 

संसद्को प्रतिपक्ष मात्र नभएर मुलुककै सबैभन्दा ठुलो दलले अगाडि सारेको संवेदनशील, संवैधानिक र लोकतन्त्रसँग जोडिएको प्रश्नमा गम्भीर नदेखिएको भन्दै एमालेले १४ सांसदको पदमुक्तको सूचना टाँस नभए सभामुख सापकोटाले पदबाट राजीनामा दिनुपर्ने पूर्ववत् अडान राखेर केन्द्रीय कमिटी बैठकबाट नै निर्णय गरेर सन्देश पठाएको हो । 

 

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ११ : ५४ बजे