एनआरएनएको महाधिवेशनमा राष्ट्रपति र प्रधानमन्त्री सहभागी हुनुहुने

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ(एनआरएनए) को १० औँ अन्तर्राष्ट्रिय सम्मेलन तथा महाधिवेशनमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुनुहुने भएको ।

शनिवारदेखि ललितपुरस्थित होटल हिमालयमा हुने सम्मेलनमा महाधिवेशनको उद्घाटन सत्रमा परराष्ट्र मन्त्री डा.नारायण खड्का विशेष अतिथि रहनुहुने जनाइएको छ ।

सम्मेलनलाई सङ्घका पूर्व अध्यक्ष डा.उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्ट लगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको एनआरएनएले जनाएको छ । 

कार्यक्रममा बोल्न पूर्व अध्यक्ष शेष घले र देवमान हिराचनको नाम समेत समावेश गरिएको तर उहाँहरूको उपस्थिति भने निश्चित भइसकेको छैन । घलेले छुट्टै सम्मेलनको आयोजना गरेर एउटा समितिको समेत घोषणा गरिसक्नु भएकोले  सम्मेलनमा भाग लिने सम्भावना न्यून रहेको बताइन्छ । 

दुई दिनसम्म चल्ने सो सम्मेलनमा सङ्घका महासचिव डा.हेमराज शर्माले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुहुने भएको छ ।  

सङ्घको नेतृत्वको लागि भएको विवादलाई अन्त्य गर्न  बहुअध्यक्षीय प्रणालीको लागि महाधिवेशनमा विधान संशोधन गर्ने तयारी गरिएको छ । 

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ७ : ५२ बजे