औषधिमा आर्थिक अनियमितता !

काठमाडौँ – स्थानीय सरकारले आफ्ना नागरिकलाई स्वास्थ्य सुविधा उपलब्ध गराउनका लागि औषधि खरिद गर्ने गरेको छ ।

नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि खरिद गरिने औषधिमा नै आर्थिक अनियमितता गरियो भने त्यो के होला ? यस्तै भएको छ हुम्लामा । 

    हुम्लाको सर्केगाड गाउँपालिका–३ का वडाध्यक्ष गजबहादुर रावतले गाउँपालिकाबाट औषधि खरिदका लागि आएको रकमबाट कम औषधि खरिद गरी बाँकी रकम हिनामिना गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको मुद्दाका आधारमा औषधिका लागि विनियोजित बजेट हिनामिना भएको पाइएको हो । 

    उक्त कार्यमा वडाध्यक्ष रावत, सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामी, प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डे र लेखापाल सुरतबहादुर रेश्मीको संलग्नता रहेको अख्तियारले जनाएको छ । आयोगले बिगो बमोजिमको कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ९ : १६ बजे