एमालेमा चुनावी तालमेल गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं । एमालेले आसन्न स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । एमाले केन्द्रीय कमिटी बैठकले ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनको लागि अन्य दलसँग तालमेल गर्ने अधिकार स्थानीय कमिटीलाई नै दिएको हो । 

एमाले प्रचार प्रसार विभाग उपप्रमुख विष्णु रिजालले स्थानीय तह निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने अधिकार स्थानीय कमिटीलाई नै भएको बताउनुभयो ।  स्थानीय आवश्यकताको आधारमा तल्ला कमिटीहरूले आवश्यक महसुस गरेको खण्डमा तालमेल गर्न सकिने उहाँको भनाई छ ।  

'स्थानीय आवश्यकताको आधारमा तल्ला कमिटीहरूले आवश्यक महशुस गरे भने त्यो भन्दा एक तह माथिल्लो कमिटीको अनुमति लिएर स्थानीय तालमेल गर्न सक्छन् । त्यसका लागि हामीले ढोका बन्द गरेका छैनौं,' भन्नुभयो । 

पार्टीमा बढिरहेको जनमतको लहर कम गर्ने, कार्यकर्ताको ध्यान अन्यत्र मोड्ने गरी राष्ट्रिय नीति बनाएर अघि नबढ्ने उहाँले प्रष्ट पार्नुभयो । 'हामी आफ्नो पार्टीको जनमत पढाउने, पार्टीमा बढिरहेको लहरलाई रोक्ने, कार्यकर्ताको ध्यान अन्यत्र मोड्ने गरी कथित तालमेलको राष्ट्रिय नीति बनाएर जादैँनौं,' उहाँले भन्नुभयो । 

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ४ : २४ बजे