‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

समाजको विकाससँगै मातृसत्ताको अन्त्य र पितृसत्ताको उत्पत्ति

समाजको चरित्र बुझ्न थोरै भए पनि समाज विकासको निरन्तर क्रमबारे जानकारी राख्नु उपयुक्त हुन्छ । यसबाट आफू रहेको समाज कस्तो छ ? भन्ने बुझ्न सकिन्छ । मानव समाज विकासको क्रमलाई मूलतः चार भागमा बाँडेर हेरिन्छ । पहिले जङ्गली अवस्थामा रहेको मानव समाज दास युग, सामन्तवादी युग हुँदै पुँजीवादी युगमा अगाडि बढ्यो । वर्तमान समाजमा सामन्तवादी अवशेषसहित पुँजीवादी र समाजवादी चरित्रबीचमा सङ्घर्ष जारी छ । 

जहाँ महिलावादका फरक धार र विचारहरू समेटिएका छन्, जुन समाजले सामाजिक न्यायको पक्षपोषण गर्ने समाजवादी महिलावादका आधारभूत मान्यताहरूलाई आत्मसात् गरेको छ, त्यहाँ पुरुष प्रधान मूल्यमान्यता र संस्कार संस्कृतिको न्यूनीकरण एवं समाजवादी चरित्रको विकास हुँदै छ । तर, जहाँ रुढीवादी सोच हाबी छ, सामाजिक सोच र व्यवहार अझै पनि पितृसत्तात्मक जकडाइमा अल्झिएकै छ, त्यहाँ समाजवाद उन्मुख यात्रा ‘दस्ताबेज र बोली’ मा मात्र सीमित हुन पुगेको छ । 

१. जङ्गली अवस्थाको घुमन्ते कबिला समाज 
विश्व मानव जाति सुरुमा फिरन्ते थियो । समय क्रममा फिरन्ते झुन्ड सामूहिक रूपमा बस्न थाल्यो । त्यस्तो सामूहिक बसाइलाई कबिला समाज भनिन्छ । कबिला समाजमा पशुपालन र खेतीपातीको सामान्य सुरुआत हुन थाल्यो तर जीवन निर्वाहको मुख्य स्रोत भने सिकार र वन्य उत्पादन नै थियो । खाद्य सामग्री सङ्कलनमा महिला, पुरुष सबै लाग्थे तर सन्तान साना भएका आमाहरू घरपालुवा पशुको हेरचाह र नजिकको खेतीपातीमा बढी समय दिन थाले । त्यहीँबाट क्रमशः कार्य विभाजनको सामान्य सुरुआत हुन थाल्यो । 

घुमन्ते कबिला समाज बिस्तारै स्थायी बसोबासमा रूपान्तरण हुन थाल्यो । निश्चित ठाउँमा स्थायी बसोबास भए पनि जीवन पद्धति प्राकृतिक भएकाले आपसी सम्बन्ध सामूहिक थियो । समाजमा यौनिक वा लैङ्गिक आधारमा कुनै विभेद थिएन । उनीहरू आआफ्नो दक्षताअनुसार काम गर्थे, इच्छाअनुसार चल्थे । सन्तानको पहिचान जन्म दिने आमाको आधारमा हुन्थ्यो, बाबुको खोजी हुँदैनथ्यो । परिवारमा आमाको हैसियत माथि थियो । घुमन्ते कबिला समाजलाई मातृसत्तात्मक समाजको रूपमा बुझ्ने गरिन्छ । 

२. कृषि आधारित समाज 
समय क्रमसँगै मानव जातिको स्थायी बसोबास हुन थालेपछि बस्ती बढ्दै गए । उत्पादनको मुख्य स्रोत खेतीपाती र पशुपालन बन्न थाल्यो । जमिनमाथिको स्वामित्वका आधारमा शक्तिको मापन सुरु भयो । शक्ति वृद्धिका लागि कविलाहरूबीच युद्ध हुँदा जित्ने पक्षले हारेको पक्षलाई दास बनाउन थाल्यो । दासका सन्तान पनि दासै हुने क्रम चल्दै जाँदा समाजको अत्यधिक ठुलो जमात दासमा परिणत हुन पुग्यो । सामाजिक विकासका अध्येताहरू यसलाई ‘दास युग’ भन्छन्, जुन सामन्तवादी समाजको पूर्वावस्था थियो । 

प्रकृतिले दिएको जमिनमाथि प्रभुत्वका आधारमा हैकम जमाउने प्रक्रिया बढ्दै गयो । बिस्तारै कृषि उत्पादन र पशुपालनमा आधारित समाजमा सामन्तवादी चरित्र विकास हुन पुग्यो । कसले कति जमिन हडप्न सक्छ, त्यस आधारमा सामन्तहरूको हैसियत मापन हुन थाल्यो । तिनै सामन्तहरूबीचको आपसी सम्बन्ध र युद्धको गठजोडबाट राज्यको उत्पत्ति हुन पुग्यो । ‘युद्ध लगायत बाह्य काम पुरुषको र परिवार व्यवस्थापनको जिम्मेवारी महिलाको’ भनेर कार्य विभाजन सुरु भयो, अर्थात् उत्पादन सम्बन्धका आधारमा पुरुषको प्रभुत्व बढ्न थाल्यो । 

बाह्य उत्पादन र युद्धबाट विमुख भई पारिवारिक व्यवस्थापनमा खुम्चँदै गएका महिलाहरू शक्ति संरचनाबाट पनि विमुख हुँदै गए । युद्धबाट सिर्जित राज्यसत्तामा युद्धमा संलग्न पुरुषहरूको एकल नियन्त्रण हुनु स्वाभाविक बन्दै आयो । शक्तिकै लागि एक समुदाय र अर्को समुदायबीच युद्धहरू बढ्न थाले । हारेका पक्षका पुरुषलाई दास र महिलालाई यौनदासी बनाउने चलन बढ्दै गयो । परिवार, सन्तान, सम्पत्ति मेरो र तेरो हुन थाल्यो । समग्रमा पुरुष प्रभुत्वशाली र महिला उनीहरूका अधीनस्थ हुन पुगे । मातृसत्तालाई पितृसत्ताले विस्थापित गर्‍यो । सत्ता, शक्ति, सम्पत्ति र सन्तान सबैमा पुरुषको अधीन कायम हुन थाल्यो । 

३. सामन्तवादी समाज 
राज्य निर्माण प्रक्रियामा महिला सहभागिता कम हुँदै जाँदा वंश र अंशको अधिकार पुरुषमा सर्न थाल्यो । एकात्मक विवाह पद्धतिको सुरुआतसँंगै महिलाहरू नियन्त्रित हुन थाले । एकल विवाह पद्धतिको आधारमा ‘सत्यमाथि विश्वास’ अर्थात् महिलाको पाठेघरमाथि पुरुषको नियन्त्रण बढ्न थाल्यो । अर्थात्, अब सन्तानको पहिचान बाबुसँग जोडिन पुग्यो, आमाको मतलबै हुन छाड्यो । परिवारको नाममा समाज संस्थागत हुँदै जाँदा महिलाको यौनिकता पूर्णतः नियन्त्रित हुँदै गयो । पुरुषहरू फुक्काफाल भए, एउटै पुरुषले दर्जनौँ श्रीमती राख्ने मात्र होइन, विवाहेतर सम्बन्धमा पनि समाजले प्रश्न उठाएन तर महिलाको यौनिकतामाथिको नियन्त्रण कडा हुँदै गयो । छोरीहरूले ‘ठुलो स्वरले बोल्न, उन्मुक्त हाँसो हाँस्न, ठाडो शिर गरेर हेर्नसमेत हुँदैन’ भन्ने मान्यता विकास गर्दै महिलाहरूलाई सानैदेखि खुम्च्याउन, आत्मविश्वास गिराउन, परनिर्भर जीवन जिउन अभ्यस्त बनाउन थालियो । यसबाट महिलाहरूलाई विवाहपछि श्रीमान्को इच्छाअनुसार चल्नुपर्ने ‘कठपुतली’ बनाउने प्रयत्न हुँदै गयो । पुरुषलाई संरक्षक र महिलालाई संरक्षित समुदायमा रूपान्तरण गरियो । समाज विकासको यही प्रक्रियासँगै मानव समाजले पूर्णतः सामन्तवादी पितृसत्तात्मक चरित्र धारण गर्न पुग्यो । 

४. पुँजीवादी समाज 
समाजको उत्पादन सम्बन्ध कृषिबाट औद्योगिक उत्पादनमा परिणत हुन थाल्यो । यो पुँजीवादी युगको सुरुआत थियो । औद्योगिक विकाससँगै सामूहिक रूपमा श्रम गर्ने अवस्था बन्दै गयो । पुरुष श्रमिकको आपूर्ति व्यवस्थामा कमी हुन थालेपछि महिला र बालबालिकालाई समेत काममा लगाउन थालियो तर उनीहरूको श्रमको चर्को शोषण भयो । पुँजीवादले महिलालाई वस्तुकरण गर्दै पितृसत्तालाई अझै फरक रूपमा बलियो बनाउँदै आयो । ज्यालामा असमानता र श्रमको चर्को शोषण विरुद्ध श्रमिक महिलाहरू बिस्तारै सङ्गठित हुन थाले । सहानुभूति र निगाहकै रूपमा भए पनि जो महिलाले शिक्षा र चेतनाको विकासमा अवसर पाए, उनीहरूसमेतको सङ्गठित पहलमा स्वतन्त्रता र समानताको आवाज फराकिलो हुन थाल्यो । मानव मर्यादामा विश्वास राख्ने पुरुषहरू पनि सो अभियानमा साथै रहे । मानव सभ्यताको आधार लैङ्गिकतामा होइन, मर्यादा र स्वाधीनतामा खोज्न थाले । ‘श्रम शोषण, लैङ्गिक असमानता र सामाजिक अन्यायको अन्त्य सङ्गठित पहलबाट मात्र हुन सक्छ’ भन्ने विश्वासका साथ सामूहिक अभियान र आन्दोलनको विकास गरे । पितृसत्ताको आडमा महिलामाथि हुँदै आएको हिंसा र विभेद अन्त्यको त्यही अभियानमा महिलावादी सोच र अवधारणाको बीजारोपण हुन पुग्यो । महिलावादी सोचलाई सूत्रीकृत गर्ने प्रक्रियामा महिलाका अनुभव, अनुभूति र पुरुषहरूसमेतको विचार र विज्ञताको संलग्नता रहँदै आयो ।

५. समाजवाद उन्मुख सङ्क्रमण समाज 
औद्योगिक क्रान्तिको दौरानमा पुँजीवादको विकाससँगै युद्ध र क्रान्तिको अभियान पनि नयाँ रूपमा अगि बढ्यो । विश्वका कतिपय मुलुकमा भएका क्रान्तिसँगै समाजवादी विचारको विकास र विस्तार हुँदै आयो । सामाजिक न्यायका लागि जनस्तरबाट उठेका सङ्गठित आन्दोलन र अन्तर्राष्ट्रिय रूपमा स्थापित मानव अधिकारका मापदण्डसँगै मातृसत्ता र पितृसत्ता दुवैको विपक्षमा सङ्गृहीत र सङ्गठित हुन थालेको विचार एवं राजनीतिमा लोकतान्त्रिक प्रणालीको अङ्गका रूपमा महिलावादी सोच विकसित हुँदै आयो । आजसम्म आउँदा समाज कल्याणका पक्षमा सुधारात्मक कार्यद्वारा पुँजीवादलाई जोगाउने प्रयत्न र सामाजिक न्यायसहितको समाजवाद निर्माण गर्ने अभियानको बिचमा विश्व समाजमा अन्तर्द्वन्द्व जारी छ । महिलावादी आन्दोलन दोस्रो पक्ष अर्थात् सामाजिक न्यायको आधारमा समान मर्यादा र सन्तुलित सहभागितासहितको न्यायिक समाज स्थापनाको पक्षमा निरन्तर विकास र विस्तार हुँदै छ । 

समाज विकासको यही क्रमबाट नेपाली समाज अगाडि बढ्दै आजको अवस्थामा आइपुगेको हो । आज यहाँ आधारभूत रूपमा सामन्तवादको अन्त्य भयो भनिन्छ तर सोच, बोली र व्यवहारमा अझै पनि सामन्तवादका अवशेष प्रशस्त भेटिन्छन् । संविधानमा उल्लिखित लक्ष्य ‘समाजवाद उन्मुख समाज’ निर्माण प्रक्रियामा पितृसत्ताको पनि अन्त्य हुनुपर्छ भन्ने चेत आम रूपमा स्थापित भइसकेको छैन । यही कुरा चिर्न पनि समाजवाद र महिलावादबीचको अन्तरसम्बन्धबारे सही बुझाइलाई ठिक ढङ्गबाट नागरिक तहमा पुर्‍याउनु जरुरी छ । 

मातृसत्ता के हो ? 
मातृसत्ता लैङ्गिक रूपमा महिलालाई प्रमुख ठान्ने सोचसहितको शासन सत्ता हो । यस किसिमको सत्ता स्थायी परिवार र व्यक्तिको निजी सम्पत्ति राख्ने व्यवस्था सुरु हुनुभन्दा पहिले नै थियो । मातृसत्तामा सन्तानको पहिचान जन्माउने आमाको नाताबाट हुने गर्थ्यो । त्यस किसिमको सामाजिक व्यवस्थाको अन्त्यसँगै समाजमा व्यक्तिगत परिवार, निजी सम्पत्ति, समुदाय हुँदै राज्यको उत्पत्ति हुने क्रममा परिवारमा आमाको र समाजमा महिलाको शक्ति कमजोर बन्दै गयो । 

समाजबाट क्रमशः मातृसत्ता दबाउँदै पितृसत्ता बलियो भयो । मातृसत्ताका केही अवशेष आजको दुनियाँमा पनि पाइन्छन् । भुटान, थाइल्यान्ड, भारतको मेघालयतिर पारिवारिक तहमा महिलाको बलियो भूमिका देखिन्छ । हाम्रै देशमा पनि आदिवासी÷जनजाति परिवारमा महिलाको अवस्था खस–आर्य समुदायका महिलाभन्दा शक्तिशाली देखिन्छ । कोही कोही यसलाई मातृसत्ताको अवशेष पनि भन्छन् तर उनीहरू पनि मिश्रित समुदायमा बस्न थालेपछि मूल धारको संस्कृतिबाट प्रभावित हुँदै गएको देखिन्छ । त्यसको कारण मूल धारको सामाजिक, आर्थिक र राजनीतिक संस्कार एवं सार्वजनिक सरोकार राख्ने सिङ्गो राज्यसत्ता पुरुष नियन्त्रित र पुरुषवादी मान्यता र व्यवहारबाट चल्नु हो । 

पितृसत्ता के हो ? 
पितृसत्ता पुरुषलाई प्रधान वा उच्च र महिलालाई सहायक वा नीच मान्ने सोचबाट निर्देशित शासन सत्ता हो । सहज भाषामा भन्दा पितृसत्ताले पुरुषलाई प्रमुख, मूली वा प्रभुत्वशाली स्थानमा राख्छ भने महिलालाई पुरुषको मातहत अथवा पुरुष आश्रित ठान्छ । वंश बाबुमा निहित हुन्छ, सन्तानको नागरिकता बनाउनसमेत बाबु नै चाहिन्छ । नेतृत्व भन्ने बित्तिकै पुरुष भन्ने सोच आउँछ । हरेक कुराको निर्णायक पुरुषलाई ठान्छ । पैतृक सम्पत्तिको पहिलो हकदार ‘छोरो’ हुन्छ । आमाबाबुप्रतिको दायित्व पनि छोराकै मानिन्छ । जग्गाजमिन, उद्योग व्यवसाय जस्ता उत्पादनका साधन—स्रोतमाथिको स्वामित्व पुरुषकै नाममा हुन्छ । सिङ्गो समाज र राज्यसत्तामा पुरुषको एकल वर्चस्व भएकाले महिलालाई आश्रित, निरीह, अबला र परनिर्भरको रूपमा हेरिन्छ । महिला जहिले पनि पुरुष (बाबु, दाई भाइ, श्रीमान्, छोरा, नाति) का साथमा मात्र सुरक्षित ठानिन्छ । पुरुषविनाको जीवन बाँच्ने महिलामाथि निराधार र अनावश्यक लाञ्छना लगाइन्छ । नागरिकलाई सेवा दिन खडा गरिएका राज्यका निकायमा बस्ने व्यक्तिले महिला मात्र आएको अवस्थामा आफ्नो दायित्वअन्तर्गतको सेवा दिने काममा समेत आलटाल गरी काम अड्काउन खोज्छ । यो पितृसत्ताको चरित्र हो ।

पितृसत्ताले हरेक कुराको दोष महिलामाथि थोपर्छ । घरेलु हिंसा, जबरजस्ती करणी जस्ता अपराधका घटनामा समेत महिलालाई नै दोषी करार गर्ने प्रयत्न गरिन्छ । संविधानले स्विकारेको भए पनि पितृसत्ताले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई त महिलाभन्दा पनि अझ निकृष्ट दृष्टिले हेर्छ । यो समुदायका व्यक्तिलाई सबल मानव होइन, विकृतिका रूपमा प्रस्तुत गर्छ । त्यसो गर्नु पनि लैङ्गिक हिंसा हो भन्ने कुरै ठान्दैन ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  १० : २६ बजे