छैटौँ भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेला हुने

भक्तपुर । भक्तपुरमा छैटौँ भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेला २०७८÷०७९ हुने भएको छ ।

‘औद्योगिक शान्ति नेपाल संस्था’ र मध्यपुर ब्वाइज ब्यान्डको संयुक्त आयोजनामा मेला हुन लागेको हो । ‘नयाँ वर्ष नयाँ सोच युवाको लागि छ प्रगतिको स्रोत’ नाराका साथ २४ चैतदेखि ४ वैशाखसम्म मेला हुन लागेको हो । 

मेला सल्लाघारी तीन कुनेमा हुनेछ ।  मेलाका लागि आवश्यक प्रक्रिया पूरा गरिसकेको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले बताउनुभयो । उहाँले अब तत्कालै यस क्षेत्रमा स्टल निर्माण कार्यका लागि तयारीमा जुटिसकेको जनाउनुभयो ।

मेलामा २०० भन्दा बढी स्टल राखिने जनाइयो । स्टलको साइज अनुसार कम्तीमा ६ हजारदेखि १९ हजार ५०० सम्म शुल्क लिएर स्थानीय व्यापारीलाई समेत स्टल उपलब्ध गराइने जनाइयो । 

मेलामा करिब ३ लाखभन्दा बढी उपभोक्ताको आगमन हुने र करिब ८ करोडको कारोबार हुने अपेक्षा गरिएको छ । 

मेला संयोजक दीपक थापाले मेलामा बिक्री गरिने सामानमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको जनाउनुभयो ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ९ : ४४ बजे