प्रचण्डसँग मातृकाको असन्तुष्टि : बहिस्कारदेखि उजुरीसम्म

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग असन्तुष्ट मातृकाप्रसाद यादवले कार्यक्रम बहिस्कारदेखि उजुरीसम्म दिन भ्याउनुभएको छ ।

मधेस प्रशिक्षण कार्यक्रमलाई बहिस्कार गर्नुभएका यादवले अध्यक्ष प्रचण्डले लिएको नीतिदेखि मधेस प्रदेशको साङ्गठनिक संरचना निर्माणका विषयलाई लिएर बहिस्कारदेखि उजुरीसम्म दिन भ्याउनुभएको ।

“मैले हेड क्वाटरमा समसामयिक राजनीतिक विषयदेखि मधेस प्रदेशको समस्या सम्बोधनका लागि भनेर उजुरी दिएको छु”, उहाँले भन्नुभयो, “त्यो उजुरीको सम्बोधन नभएसम्म मेरो पार्टीलाई आवश्यकता पनि छैन, आवश्यक नै नभएपछि बैठक र प्रशिक्षणमा जाने कुरा पनि हुन्न ।”

केन्द्रीय कमिटी बैठकपछि दिएको लिखित उजुरीलाई अध्यक्ष प्रचण्डले अझै सम्बोधन नगरेको र सो सम्बोधनको प्रतीक्षामा आफू रहेको उहाँले जानकारी दिनुभयो ।

अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), मधेसको सांगठानिक संरचनादेखि नेतृत्वले लिएको पछिल्ला नीतिप्रति असन्तुष्टि जनाउँदै यादवले माओवादी केन्द्रीय कार्यालयमा लिखित उजुरी दिनुभएको हो । सो उजुरी सम्बोधन नभएपछि यादवले जनकपुरमा आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रमलाई पनि बहिस्कार गर्नुभएको छ ।

मधेस प्रदेशमा पूर्व माओवादी र जनमोर्चा समूहका बीचमा सत्ता सङ्घर्ष जारी रहेको बखतमा सन्देश दिने गरी यादवले मङ्गलवार बैठक बहिस्कार गर्नुभएको थियो। सहिद रामबृक्ष यादवको शालिक प्रकरण, मधेस प्रदेश सदस्य चयन, पदाधिकारी लगायतका विषयमा यादवले अध्यक्ष प्रचण्डसँग असन्तुष्टि जाहेर गर्दै आउनुभएको छ । 

पूर्व जनमोर्चा समूहका गिरिराजमणि पोखरेल, विश्वनाथ साह लगायतलाई बढी भूमिका दिएको तर जनयुद्धकालीन कार्यकर्तालाई भने किनारा लगाएको भन्दै युद्धकालीन माओवादी कार्यकर्ता असन्तुष्ट रहेको बेला यादवले प्रशिक्षण बहिस्कार गर्नुभएको हो ।

प्रदेश कमिटी निर्माण गर्न पनि झन्डै एक साता लगाएको माओवादीले मधेस प्रदेशमा नेतृत्व चयन गर्न अझै पनि सकेको छैन । 

“अध्यक्षसँग मेरा असन्तुष्टि कायमै छन् तर हिजोको कार्यक्रममा उहाँ आउँदा स्वागत र बिदाइ दुवै गर्न गएँ, मात्र प्रशिक्षण कार्यक्रममा उपस्थित नभएको हो”, यादवले  भन्नुभयो, “अरू जिम्मेवारी साथीहरू हुनुहुन्थ्यो, त्यसैले मेरो त्यहाँ आवश्यकता नै थिएन, अनि प्रशिक्षण स्थलमा नबसेको हुँ ।” उहाँका अनुसार आफ्नो उजुरीको माग सम्बोधन नभएसम्म पार्टीको आन्तरिक कार्यक्रम र सांगठानिक निर्माणजस्ता कार्यमा बहिस्कार र अनुपस्थिति दुवै रहिरहनेछ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ११ : ०६ बजे