खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

म्यादी प्रहरी बन्न जुम्लामा तीन दिनमै १२ सयको आवेदन

जुम्ला । म्यादी प्रहरी भर्ना  खुलेको तीन दिनमै जुम्लामा १२ सय जनाको आवेदन परेको छ । स्थानीय तह निर्वाचन लागि ६ देखि ११ चैतसम्मका लागि खुलेकाे भर्ना प्रक्रियामा सहभागी हुन उनीहरूले आवेदन दिएका हुन् । 

आवेदन दिन आउनेकाे संख्या दिनहुँ बढीरहेकाे छ । प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी  युवन चौधरी भन्छन्, 'जुम्लाका लागि सात सय ६८ जना म्यादी प्रहरी भर्ना गर्नुपर्ने  हो । तर, यहाँ भर्नाको  आह्वान गरेकाे तेस्रो दिनमा १२ सयको दरखास्त परिसक्याे ।' 

प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार १८ वर्षभन्दा माथि र ५४ वर्ष भन्दा तलाका सबै नागरिकले  दरखास्त दिन सक्नेछन्।  उनले भने, 'पूर्वनेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकालाई केही प्रथामिकता दिइनेछ ।  

म्याद ४० दिन मात्रै 
आगामी निर्वाचनलाई लक्षित गरी भर्ना भएका म्यादी प्रहरीको कार्यअवधि ४० दिनको हुनेछ । त्यसका लागि मासिक ३० हजार दुई सय ४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । 

प्रत्येक म्यादी प्रहरीले खाद्यान्न बापत सात हजार दुई सय ,पोसाक र अन्य खर्च गर्नेगरी ६ हजार रुपैयाँ, यातायात खर्चबापत एक हजार रुपैयाँ र बिमा सुविधा समेत उपलब्ध रहेकाे प्रहरी निरीक्षक युवन चौधरीले बताए । उनले म्यादी प्रहरीको लागी १३ चैतमा सम्पर्क मिति  रहेको छ । यस्तै १५ देखि २२ चैतसम्म छनोट प्रक्रिया हुनेछ । २८ चैतभित्र उनीहरूको नतिजा आउन थाल्छ ।

प्रहरी निरीक्षक युवन चौधरीका अनुसार म्यादी प्रहरीको लागि जुम्लामा ५३  वर्षसम्मका पुरुष र ३५ वर्षसम्मका महिलाले दरखास्त दिएका छन् । उनले भने, '११ चैतसम्म दरखास्त दिने मिति भएकाले करिब दुई हजारको हाराहारीमा  दरखास्त पर्न सक्ने  अनुमान छ ।'

कोरोना महामारीका  कारण जुम्लामा बेराेजगारी दर बढेकाे छ । गाउँमा रोजगारीका कुनै अवसर  नभएपछि म्यादी प्रहरीको लागि निवेदन दिएको चन्दननाथ नगरपालिका- ८ की दुर्गा थापाले बताइन । उनले भनिन्,  घर खर्च चलाउन म्यादी प्रहरी हुन आएकी हुँ ।' 

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ३ : ४९ बजे