खुर्काेटमा बेलिबृज जडान सुरु

कम्युनिष्टहरुले कांग्रेसलाई भोट हाल्दैनन्,गठबन्धनको जरुरत छैन : शेखर कोइराला 

मोरङ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन आवश्यक नरहेको बताउनुभएको छ । उहाँले चुनावमा गठबन्धन गर्ने नगर्ने जिम्मा स्थानीय तह, क्षेत्र र जिल्ला कार्य समितिलाई दिनुपर्ने बताउनुभयो । मंगलबार कांग्रेसका भ्रातृ संस्था नेपाल सांस्कृतिक संघले कोइराला निवासमा आयोजना गरेको चुनावी गीत सार्वजनिकीकरण कार्यक्रममा बोल्नुहुँदै नेता कोइरालाले कम्युनिष्टले कांग्रेसलाई मतदान गर्नेमा विश्वस्त नभएको भन्नुहुँदै त्यसैले  गठबन्धन गर्न जरुरत नभएको बताउनुभयो । 

‘जिल्लाका कांग्रेसका साथीहरूले स्थानीय तहको चुनावमा गठबन्धन गरेर जानु हुँदैन र यसले कांग्रेसलाई फाइदा नगर्ने भनिरहनुभएको छ,’ उहाँले भन्नुभयोे, ‘कम्युनिष्टले कांग्रेसलाई भोट हाल्छ भन्नेमा काँग्रेसी विश्वस्त छैनौँ । त्यसैले आवेशमा होइन, पार्टी नेतृत्वले सोच–बिचार गरेर निर्णय लिनुपर्छ, अरूलाई फाइदा दिलाउन गठबन्धन जरुररत छैन ।’ कोइरालेले पार्टीभित्रको तिक्तता छोडेर एक ढिक्का भई कांग्रेस अघि बढे चुनावमा कसैले हराउन नसक्ने बताउनुभयो । 

उहाँले गठबन्धन गरे त्यसको  फाइदा कांग्रेसलाई नभई माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई फाइदा पुग्ने बताउनुभयो । ‘गठबन्धन गर्दा केका लागि गठबन्धन गर्ने ? अरू पार्टीलाई जिताउनका लागि कि अरू पार्टीले कांग्रेसलाई पनि भोट दिनका लागि गठबन्धन हो ? कांग्रेस नेतृत्वले त्यसतर्फ सोच्नु पर्छ ।’

कांग्रेसको अरू पार्टीभन्दा अलग सिद्धान्त र बिचार भएकाले पनि गठबन्धन गर्नु उपयुक्त नभएको कोइरालाको तर्क थियो ।  सिद्धान्त नमिल्ने पार्टीसँग गठबन्धन जानुको औचित्य नरहेको उहाँको भनाइ थियो । 

 

 

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ३ : १२ बजे