‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

अन्तर्राष्ट्रिय वन दिवस : वन संरक्षण आजको ज्वलन्त विषय

पृथ्वीमा रहने मानव तथा जीवन धारण गरेका प्राणी जगतको लागि वन क्षेत्रको  ज्यादै महत्त्व रहन्छ ।  वन जङ्गल पृथ्वीको फोक्सो हो । जैविक विविधता हाम्रो जीवन हो, वन जङ्गल यसको आधार हो । वनस्पतिले प्राणी जगतका लागि अक्सिजन दिन्छ, वायुमण्डलमा भएको कार्बन डाइअक्साइड शोषण गरेर आफ्नो खाना आफै बनाउँछ । त्यसैले वातावरणलाई शुद्धीकरण गर्दछ । सूक्ष्म प्राणीदेखि ठूलाठूला वन्यजन्तुहरूको जीवन वन जङ्गल, सिमसार तथा जलाशयहरूमा बढी मात्रामा पाइन्छ । मानव जीवन, वनस्पति तथा प्राणी जगतको पारस्परिक घनिष्ठ सम्बन्ध रहेको हुन्छ । यसले पारिस्थिकिय प्रणालीमा ज्यादै महत्त्व राख्दछ । वन र वनस्पतिले  माटोलाई भू–क्षय हुनबाट जोगाउनुको साथै बाढी तथा पहिरो नियन्त्रणको काम गर्दछ । पानीका मुहानहरूलाई जोगाउँदछ । हरियाली  तथा सुन्दरता कायम राख्दछ । जैविक विविधताले कृषि उत्पादनलाई बढाउँछ । नेपाल कृषि प्रधान देश भएकाले कृषि, पशुपालन तथा दुग्ध व्यवसायको वनसँग घनिष्ठ सम्बन्ध रहेको छ । किसानहरूलाई दैनिक चाहिने दाउरा, घाँस, स्याउला, काठ,गैह्र काष्ठ वन पैदावार,औषधिजन्य जडीबुटी, खाद्यवस्तु तथा घर—गोठ निर्माणलाई चाहिने कच्चा पदार्थ र चरिचरण वन क्षेत्रबाट  नै प्राप्त हुन्छ ।  जैविक विविधताविना जीवन र जगतको सम्भावना हुँदैन । यसको लागि वन क्षेत्रको संरक्षण गर्नु अति आवश्यक छ । 

प्राकृतिक सुन्दरताले भरिपूर्ण  विश्वमा नै प्रख्यात नेपाल  सम्पदा र वन जङ्गलले भरिएको देश हो । नेपालमा वन क्षेत्रले ५९ लाख ६२ हजार हेक्टर भू–भाग ओगटेको छ । नेपालको कुल क्षेत्रफलको करिब ४०.३६ प्रतिशत जमिन वन जङ्गलले ढाकेको राष्ट्रिय तथ्याङ्कले देखाउँदछ । नेपालको कुल क्षेत्रफलमध्ये वन क्षेत्र र अन्य काष्ठ तथा बुट्यान क्षेत्र दुवैले गरी ४४.७४% भू–भाग ओगटेको छ ।  यहाँ धेरै किसिमका वनस्पति भएका वनजङगल पाइन्छन् जसमा महत्त्वपूर्ण प्रजातिका रुख—बिरुवाहरूको बाहुल्य रहेको छ । यहाँ उष्ण प्रदेशीय सदाबहार जङ्गल, समशीतोष्ण पतझर जङ्गल, शीतोष्ण कोणधारी जङ्गल, लेकाली वनस्पतीय जङ्गल  र टुन्ड्रा वनस्पतीय क्षेत्र रहेका छन् । उष्ण प्रदेशीय सदाबहार जङ्गल, समशीतोष्ण पतझर जङ्गल र शीतोष्ण कोणधारी जङ्गल फरक फरक महत्त्वपूर्ण  बहुमूल्य काठजन्य वनस्पति तथा गैह्र काष्ठ वन पैदावारले भरिपूर्ण छ भने लेकाली वनस्पतीय जङ्गल  र टुन्ड्रा वनस्पतीय क्षेत्र औषधिजन्य जडीबुटीले भरिपूर्ण छन् । 

कुल वन क्षेत्रफलको ३७.८०% मध्य पहाडी भौगोलिक क्षेत्रमा, ३२.२५% उच्च पहाडी तथा उच्च हिमाली क्षेत्रमा, २३.०४% चुरे क्षेत्रमा र ६.९०% तराई क्षेत्रमा अवस्थित छ । यसै गरी अन्य काष्ठ तथा बुट्यान क्षेत्रमध्ये तराई, चुरे, मध्य पहाडी र उच्च पहाडी तथा उच्च हिमाली भौगोलिक क्षेत्रहरूमा क्रमशः १.४७%, ३.५०%, ९.६१%, र ८५.४२% रहेको छ ।  कुल वन क्षेत्रफल मध्ये संरक्षित क्षेत्रभन्दा बाहिरको भागमा ४९ लाख २९ हजार हेक्टर (८२.६८ %) र संरक्षित क्षेत्रमा १० लाख ३३ हजार हेक्टर (१७.३२%) वन रहेको पाइएको छ । संरक्षित क्षेत्रको भित्री भागमा ७ लाख ९३ हजार हेक्टर र मध्यवित्त क्षेत्रमा २ लाख ४० हजार हेक्टर वन क्षेत्र रहेको पाइएको छ । 

नेपालको कुल आम्दानीमा वन क्षेत्रको  भूमिका १५ प्रतिशत रहेको छ । नेपालको वनको  दिगो व्यवस्थापन गरी सही सदुपयोग द्वारा वनमा आधारित उद्योग तथा वनजन्य उद्योगको स्थापना गर्न सकेमा नेपाली जनताका दैनिक आवश्यकता पूरा हुनुका साथै रोजगारीको  अवसर पनि सिर्जना गर्न सकिन्छ । आफ्नो देशमा चाहिने काठ बाहेक धेरै भएको बहुमूल्य काठ तथा काष्ठ पैदावार बाह्य देशहरूमा निर्यात गर्न सकेमा राष्ट्रलाई अर्थतन्त्रको क्षेत्रमा ठुलो टेवा पुग्ने देखिन्छ । त्यसरी नै नेपालमा पाइने जडीबुटी तथा सुगन्धित तेल निकाल्न मिल्ने वनस्पतिहरूको संरक्षण, दिगो व्यवस्थापन र स्वदेशमा नै प्रशोधनको विकास  गर्न  सकेमा रोजगारीको सिर्जनाका साथै प्रशोधित वस्तु निकासीले ठुलो धनराशि जम्मा गर्न सकिने सम्भावना छन् ।  त्यसैले हरियो वन, नेपालको धन भनिएको हो ।

नेपालमा वन जङ्गल अतिक्रमण, फडानी, काठ तथा वन्यजन्तु चोरी निकासी, वन डढेलो, अति चरिचरन तथा खोरिया फडानी, गैह्र काष्ठ वन पैदावार र बहुमूल्य जडीबुटीहरूको अति उत्खनन वन क्षेत्रका समस्याका रूपमा रहेका छन् । यी क्रियाकलापहरूको सबैभन्दा बढी प्रतिकूल प्रभावहरू अन्य भौगोलिक क्षेत्रहरूको तुलनामा चुरे भौगोलिक क्षेत्रको वनमा भएको पाइएको छ, जसमध्ये चरिचरन, वन डढेलो, पहिरो र झाडी कटानी प्रमुख हुन् । वन जङ्गलमाथि हुने धेरै किसिमका ज्यादतीमध्ये वन डढेलो सबैभन्दा विनाशकारी मानिन्छ, जसले वन, वन्यजन्तु, जैविक विविधता र माटोलाई समेत नष्ट गर्दछ । नेपालमा बर्सेनि वनमा आगलागी हुने गर्दछ । वनमा आगो रुखहरूको धर्षणबाट, गोठालाहरूको लापरबाही, चुरोटका ठुटाबाट तथा घाँस उमार्ने मनसायले जानीजानी डढेलो लगाउने प्रवृत्तिबाट, वनभोज तथा मनोरञ्जन गर्न जङ्गलमा जाने आगो राम्रोसँग ननिभाई फर्कने आदि मुख्य कारण हुन् ।  

वन डढेलो तीन किसिमको हुन्छ, ती हुन्— ग्राउन्ड फायर, सरफेस फायर तथा क्राउन फायर । ग्राउन्ड फायरले जमिन भित्रको काठ, जैविक वस्तुहरू, कोइला, माटो तथा जराहरूलाई नष्ट गर्दछ । सरफेस फायरले पात पतिङ्गर, झाडी र स्यापलिङ्ग अवस्थाका बोटहरू तथा जडीबुटीलाई नष्ट गर्दछ भने क्राउन फायरले काण्ड तथा क्राउन कभरलाई नै सखाप पार्दछ । नेपालको तराई क्षेत्रका वन जङ्गलमा ग्राउन्ड फायर र सरफेस फायर लाग्दछ भने चुरे तथा मध्य पहाडी क्षेत्रमा सरफेस फायर तथा क्राउन फायर लाग्दछ र उच्च पहाडी क्षेत्रका कोणधारी जङ्गलमा क्राउन फायरले बर्सेनि ठुलो क्षति पु¥याउँदै आएको छ । लामो खडेरी, सुख्खा हावा र व्यवस्थापनको कमजोरीका कारण वन तथा जैविक विविधतामाथि परेको चर्को असरको ज्वलन्त उदाहरण हो– वि.सं. २०७२ साल फाल्गुण र चैत्र महिनामा लागेको डढेलो, जसले नेपालका धेरै वन जङ्गलहरूको नोक्सानी भयो । वन र वनस्पति, काठ र गैह्र काष्ठ मात्र होइन यसबाट वन्यजन्तुहरू तथा जैविक विविधताका साथै धनजनको समेत नोक्सानी भयो । पहाडी क्षेत्रमा गाउँसँग जोडिएका सामुदायिक वनहरूमा लागेको आगोबाट वन र वनस्पति मात्र होइन, घर—गोठ र पशु चौपायाहरू समेत डढेर ठुलो क्षति बेहोर्नु परेको तथ्य हामी सबैलाई जानकारी नै छ । झन्डै तीन दशक लगाएर संरक्षण गरी हुर्काइएका सामुदायिक  वनहरू  वनजन्य उत्पादनको दिगो विकास गरी आत्मनिर्भर बन्ने अवस्थामा समुदाय पुगेकै बेला क्षण भरमा  खरानीमा परिणत हुनु दुःखदायी कुरा हो ।  वि.सं. २०७३ देखि  २०७७ साल सम्म हिउँदे वर्षा र  पूर्व मनसुन समयमा नै सुरु भएका कारण छिट फुट आगलागी भए तापनि धेरै ठुलो क्षति हुनबाट बचेको छ । २०७८ को लामो चिसो हिउँद सकिनासाथ गर्मी ह्वात्तै बढेका कारण लामो खडेरी पर्ने सम्भावना रहेको हुँदा वन डढेलोको जोखिम बढ्दो छ । कतिपय सामुदायिक  वनहरूमा आगलागीका घटना सूत्रमा आइसकेका छन् । सम्बन्धित सरोकारवाला निकायबाट समयमा  संरक्षणका कदम नचालेमा यसले धनजन र जैविक विविधतामा ठुलो नोक्सानी पु¥याउने सम्भावना देखिन्छ । 
महत्त्वपूर्ण वन स्रोतको दिगो व्यवस्थापनमा हालका दिनहरूमा धेरै चुनौतीहरू देखा परेका छन् । नेपालमा गरिबी, अशिक्षा, बेरोजगारी, बसाइ सराइ, सहरीकरण, औद्योगीकरण, जैविक विविधता विनाश, जलवायु परिवर्तन, तथा राजनीतिक अस्थिरता आदि मुख्य चुनौतीका रूपमा रहेका छन् । नेपालमा वन क्षेत्रमा कार्यरत कर्मचारीको सङ्ख्या अत्यधिक रहेको भए तापनि वन व्यवस्थापन र अग्नि नियन्त्रणका प्राविधिक कामहरूमा स्थानीय उपभोक्ता समूह, नेपाली सेना र सशस्त्र प्रहरीको भूमिका मुख्य रहेको देखिन्छ । वन विषयमा उच्च अध्ययन गरेका वन प्राविधिकहरूले  आफूले विदेशमा सिकेको ज्ञान वनजङ्गलको दिगो व्यवस्थापनमा जसरी लागू गर्न पर्ने हो त्यो यहाँ लागू भएको देखिँदैन । 

अब उच्च र आधुनिक प्रविधि प्रयोग गरी कम लागतमा धेरै उत्पादन गर्नुपर्ने बेला भएको छ । सानो एकाइमा भए पनि प्रविधिलाई भित्र्याउन सक्नु पर्दछ । वन क्षेत्रले कति आय आर्जन ग¥यो र कति रोजगारी सिर्जना भयो भन्ने हिसाब हुनु पर्दछ । कति क्षेत्रफल बढ्यो भन्ने कुराले मात्रले अब पुग्दैन । हरेक कामबाट राष्ट्र र जनतालाई  के फाइदा भयो र कति फाइदा भयो भन्ने हिसाब हुनु पर्दछ यो समयको माग हो । परिवर्तित राजनीतिक परिस्थितिले वन क्षेत्रमा सकारात्मकभन्दा नकारात्मक असर धेरै पारेको देखिन्छ । नीति, नियम बदलिरहने तथा केन्द्रमा बस्ने वातावरणले वन क्षेत्रमा त्यति सफलता दिन सकेको देखिँदैन ।

वन सम्पदा पुनर्नवीकरणीय प्राकृतिक स्रोत हो । कृषिवालबाट जस्तै वनवालीबाट पनि समयमा वन सम्बद्र्धनका कामहरू गरी निरन्तर उत्पादन लिन सकिन्छ । नेपालका वन क्षेत्रमा रहेका धेरै परिमाणका रुखहरू परिपक्व भई हार्भेस्ट (स्याहार्ने) गर्ने अवस्थामा पुगेका छन् । कतिपय रुखहरू परिपक्व अवस्था पार गरी धोद्रा भइसकेका छन् । धोत्रिएका रुखहरूको मूल्य दिनानुदिन घट्दो अवस्थामा छ । यस्तो अवस्थाका वन पैदावार समयमा  स्याहार्ने, ढला पढा, सुकेका, रोग लागेका रुखहरूलाई हटाउने, पतल्याउने (थिनिङ्ग) तथा पुर्निङ्ग नगरेमा आगलागीको सम्भावना धेरै रहन्छ । नेपालका धेरै सामुदायिक वनहरूको कार्य योजना नवीकरण गर्न बाँकी भएका कारण वन सम्बद्र्धन र व्यवस्थापनका कामहरू गर्न  बाधा परेको अवस्था छ । बसाइ सराइले गर्दा धेरैजसो सामुदायिक वनहरूमा कार्य योजना लेखन तथा वन सम्बद्र्धन र व्यवस्थापनका कामहरू गर्न जनशक्तिको खाँचो देखिएको छ । सामुदायिक वनहरू  तथा खर बारीहरूमा पनि बनमारा र मिचाहा प्रजाति तथा झाडी वृद्धि भएको हुँदा वन डढेलो लागेमा गाउँमा पस्ने र पशु चौपायाको समेत नोक्सानी हुने अवस्था सिर्जना भएको देखिन्छ । युवाहरू विदेश पलायन र बसाइ सराइले पहाडी क्षेत्रका गाउँ बस्तीहरूमा वृद्ध—वृद्धा र अशक्तहरू मात्र भएकाले डढेलो निभाउने काममा पनि कठिनाइ भएको छ ।  

वन डढेलो नियन्त्रण गर्न समयमा वन सम्बद्र्धनका कामहरू गर्नु पर्दछ । झाडी सफा गर्ने, अग्नि रेखा निर्माण गर्ने, कन्ट्रोल बर्निङ्ग समयमा गर्ने तथा वन डढेलाबाट हुने नोक्सानीबारे जनचेतना बढाउने काम गर्नु पर्दछ । पानीका मुहानहरू संरक्षण गरी जोखिमलाई न्यूनीकरण गर्ने तथा वन डढेलो निभाउने उपकरणहरूको उचित व्यवस्थापन गर्नु पर्दछ । जङ्गलमा आगो लागेमा जैविक विविधता, धनजन र प्राकृतिक सम्पदाको नोक्सानी हुनुका साथै कार्बन उत्सर्जन धेरै भई वातावरणीय प्रदूषणको जोखिम पनि बढ्न जान्छ, जुन जीवन र जगतका लागि हानिकारक हुन्छ । डढेलोले खाएको वन जङ्गल पलाउन धेरै समय लाग्दछ । यसले पहिरोलाई निम्त्याउँछ । पहिरोले बाढी र विपत् ल्याउँछ । त्यसैले सम्बन्धित सरोकारवाला निकायबाट समयमा  सरक्षणका कदम चालिएमा  सबैको भलो हुनेछ ।

(लेखक खनाल वन तथा प्राकृतिक स्रोत—साधन व्यवस्थापन विज्ञ हुनुहुन्छ ।)

 

 

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  १२ : ५३ बजे