काठमाडाैँ । विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्नेको सङ्ख्या दिनहुँ बढिरहेको छ । स्थानीय तहको निर्वाचन नजिकिदैं गर्दा मेयर, उपमेयर, वडाअध्यक्षहरु तथा विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गर्ने लहर देशव्यापी रूपमा बढेको छ ।
आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निजी निवास बालकोटमा वीरगञ्ज महानगरपालिकाका दुईजना वडा अध्यक्ष सहित २२ जना नेतालाई एमालेमा प्रवेश गराउनुभएको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्सा सह इन्चार्ज निर्मला देवकोटाले वीरगञ्ज महानगरपालिका २५ का वडाध्यक्ष विश्वराज कुर्मी, २८ का वडाध्यक्ष जयनारायणसिंह कुर्मी सहितको टोली एमालेमा प्रवेश गरेको बताउनुभएको छ । त्यस्तै जनता समाजवादी पार्टीका मधेस प्रदेश सदस्य अजय साह,पर्सा जिल्ला समन्वय समितिका सदस्य अमोर यादवसहित विभिन्न वडाका जनप्रतिनिधीहरु एमालेमा प्रवेश गरेको जानकारी दिनुभएको छ ।
यसअघि वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई एमालेका अध्यक्ष ओलीले एमालेमा प्रवेश गराउनु भएको थियो। अध्यक्ष ओलीले नेकपा एमालेमा प्रवेश गर्नेहरुलाई विना कुनै भेदभाव उपयुक्त जिम्मेवारी दिने बताउनुभएको छ ।
प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार १२ : १८ बजे
प्रतिक्रिया