सुनको मूल्यमा नयाँ कीर्तिमान

झडपमा प्रहरीको मृत्यु भएपछि लेटाङमा बिहानैदेखि कर्फ्यु

विराटनगर । यौन दुर्व्यवहारको घटनालाई लिएर मोरङको लेटाङमा भएको झडपमा एक प्रहरीको ज्यान गएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । 

जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ नगरपालिका–५ खेरूवा क्षेत्रमा आज बिहान ७ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्म कर्फ्यु जारी गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले आदेश उल्लङ्घन नगर्न आग्रह गर्नुभयो । 

कक्षा ६ मा अध्ययनरत एक छात्रालाई शिक्षकले यौन दुर्व्यवहार गरेपछि उनलाई पक्राउ गर्न छाडेर उल्टै सुरक्षा दिएको भन्दै आक्रोशित स्थानीय प्रहरीमाथि जाइलागेका थिए । लेटाङ नगरपालिका–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक ५६ वर्षीय मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप छ ।

सोही क्रममा प्रहरी जवान उर्मिला श्रेष्ठको घाँटीमा छुरा प्रहार भएको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता नवीनकुमार राईले बताउनुभयो । उहाँलाई कोसी‍ प्रादेशिक अस्पताल लगिएको थियो । तर, चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए ।

घटनामा मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीसहित २५ जना र स्थानीय सात जना घाइते भएका थिए । 

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ७ : ३२ बजे