खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

तनहुँमा एकै महिनामा दुई महोत्सवको तयारी

दमौली।  तनहुँ जिल्लामा एकै महिनामा दुई महोत्सवको तयारी गरिएको छ । कोभिड–१९ को प्रभावका कारण रोकिएका महोत्सव सञ्चालनको तयारी थालिएको हो । 

चैत महिनामा जिल्लाका दुई ठाउँमा दुई महोत्सव आयोजना हुँदैछन् । सदरमुकाम दमौलीमा तनहुँ उद्योग वाणिज्य सङ्घले आठाँै तनहुँ महोत्सव र खैरेनीटारमा शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घले महोत्सव गर्न लागेका हुन् । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा चैत १० गतेदेखि आठाँै तनहुँ महोत्सव हुँदैछ ।

 यसअघि पुस २९ देखि माघ १० गतेसम्म महोत्सवको मिति तोकिएको थियो । कोरोना भाइरस सङ्क्रमण जोखिम न्यूनीकरण भएसँगै महोत्सवको तयारी सुरु भएको सङ्घका अध्यक्ष पवीन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवको सह–आयोजकमा तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार रहेको छ । महोत्सवका लागि स्टल बुकिङसमेत खुल्ला गरिएको छ । महोत्सव व्यास नगरपालिका–३ स्थित बिपी वन बाटिकामा हुनेछ । 

आर्थिक, सामाजिक विकासका साथै स्थानीय उत्पादन, कृषि, धार्मिक, सांस्कृतिक, पर्यटकीयस्थल, उद्योग, व्यापार व्यवसायको सम्भाव्यता अध्ययन गरी प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव गर्न लागिएको सङ्घले जनाएको छ । पाँच लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवमा करिब रु ६ करोड बराबरको आर्थिक कारोबार हुने अनुमान छ । महोत्सवमा कूल आम्दानी रु ८० लाख र नाफा रु १५ लाख ३५ हजार हुने अनुमान छ । 

महोत्सवका लागि बैंक, वित्तीय संस्था समन्वय समिति, प्रचारप्रसार, सचिवालय, आर्थिक, हस्तकला प्रवद्र्धन, लोकदोहारी व्यवस्थापन, कोसेली व्यवस्थापन, आदिवासी जनजाति समन्वय, कन्सर्ट व्यवस्थापन, रमाइलो मेला, पर्यटन प्रवद्र्धनलगायत उपसमिति गठन गरिएको छ । महोत्सवमा मादीसेती नदीमा जलविहारको व्यवस्था मिलाइने भएको छ । सेती र मादीको सङ्गमस्थल दमौलीमा जलविहारको प्रचुर सम्भावना भए पनि जलविहारले व्यापकता पाउन नसकेको भन्दै महोत्सव अवधिभर जलविहार सञ्चालन गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

ग्रामीण पर्यटनको प्रचुर सम्भावना रहेको जिल्लाका ऐतिहासिक र सांस्कृतिक रुपले सम्पन्न ग्रामीण बस्तीको प्रवद्र्धनका लागि दर्शकलाई सांस्कृतिक नमूना ग्राम भ्रमण गराउने योजना छ । महोत्सव अवलोकनका लागि दर्शकलाई मानुङकोट, कुमालटारी, बोटेगाउँ, दरैगाउँलगायतका गाउँ भ्रमणको व्यवस्था मिलाइएको छ ।

यसैगरी शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घ खैरेनीटार बजार इकाईको आयोजनामा चैत २४ गतेदेखि वैशाख ५ गतेसम्म शुक्लागण्डकी खैरेनीटार महोत्सव हुँदैछ । एघारौँ संस्करणसम्म गरिएको खैरेनीटार महोत्सवको निरन्तरतास्वरुप नै शुक्लागण्डकी खैरेनीटार महोत्सव आयोजना गर्न लागिएको इकाई सभापति पूर्ण कायस्थले जानकारी दिनुभयो । पहिला तनहुँ उद्योग वाणिज्य सङ्घअन्तर्गत खैरेनीटार बजार इकाइले चैते दसैँको अवसर पारेर महोत्सव आयोजना गर्दै आएको थियो । विगत दुई वर्षयता शुक्लागण्डकीमा दुई वटा उद्योग वाणिज्य सङ्घ गठन भएको छ । 

यहाँको धार्मिक, पर्यटकीयस्थलसँगै स्थानीय कला, संस्कृति र कृषि उपजको प्रर्वद्धन गर्ने उद्देश्यसहित महोत्सव गर्न लागिएको कायस्थले बताउनुभयो । महोत्सवमा रु चार करोड ७५ लाखको कारोबार हुने र दुई लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवका प्रवक्ता हरि थापाले बताउनुभयो । महोत्सवमा २२५ स्टल रहनेछ । तीमध्ये एक सय स्टल बुकिङ भइसकेको छ भने स्थानीय व्यवसायीलाई स्टलमा ३० प्रतिशत छुट दिइएको छ । 

महोत्सवबाट भएको आम्दानीको ४० प्रतिशत सामाजिक क्षेत्रमा खर्च गरिने आयोजकले जनाएको छ । महोत्सवबाट भएको आम्दानी शवदहस्थलमा खर्च गरिने आयोजकले जनाएको छ । रासस

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ३ : ३९ बजे