मन्थली विमानस्थलमा पानी पस्यो

एआईजी बढुवा सिफारिशविरुद्ध डीआईजीहरूको उजुरी, अदालत जानेसम्मकाे तयारी

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)बढुवा सिफारिशविरुद्ध उजुरी परेको छ । 

गृहमन्त्रालयले चैत १ गते वरीयता मिचेर  डीआईजीहरू वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवाका लागि सिफारिश गरेको थियो ।
त्यसविरुद्ध डीआईजी घनश्याम अर्याल, ईश्वरबाबु कार्कीलगायतले लोक सेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको गुनासो सुनुवाइ समितिमा उजुरी दिनुभएको हो ।  उजुरीमा आफूहरू भन्दा कनिष्ठलाई बढुवा सिफारिश गरिएको उल्लेख छ । 

समितिमा लोक सेवा आयोगका अध्यक्षका अलावा नेपाल सरकारका मुख्य सचिव र कानून मन्त्रालयका सचिव सदस्य छन् ।

समितिले उजुरी प्राप्त भएपछि उजुरी गर्ने म्याद सकिएको भोलिपल्ट बढुवा समितिको राय, प्रतिक्रिया र उजुरीसँग सम्बन्धित कागजात पठाउन बढुवा समितिको सचिवालयलाई लेखी पठाउने व्यवस्था छ ।

बढुवा समितिको जवाफ आएपछि सिफारिश उपयुक्त नपाइएमा त्यसलाई उल्ट्याउनेसम्मको अधिकार समितिलाई छ । 
उसो त  सिफारिसमा असन्तुष्ट नायब महानिरीक्षक (डीआईजी)हरूले अदालत जानेसम्मको तयारी गरिरहेका छन् ।

सामाजिक सञ्जालमा सक्रिय देखिने ईश्वरबाबु कार्कीले सिफारिसविरुद्ध तीव्र असन्तुष्टि जनाउँदै अदालत जाने संकेत गर्नुभएको हो । 
‘अन्तिम आशा त न्यायालयकै रह्यो । हेरौँ जाम कि नजाम’ भन्दै ट्वीटरमा भोटिङ पोल बनाएका कार्कीले जाम भन्ने पक्षमा ८४ प्रतिशतभन्दा बढी मत आएपछि आइतबार लेखेका छन्, ‘फाइनल्ली १ डेमोक्रेसीमा बहुमतको कदर त गर्नैपरो । ‘ओखली में सिर दिया तो मूसल का क्या डर ।’ उहाँले लेख्नुभएको छ ।

वरीयतामा अगाडि रहेका डीआईजी घनश्याम अर्याल, प्रकाशजङ कार्की र ईश्वरबाबु कार्कीले सिफारिसविरुद्ध तीव्र असन्तुष्ट जनाइरहनुभएको छ ।  यी तीनैजना वर्तमान आईजिपी शैलेश थापाका ब्याचीहरू हुनुहुन्छ । तीनै जनाले वैशाख १८ बाट अवकाश पाउँदैछन् ।

सिफारिसमा परेका पन्त पनि आईजीपी थापाका ब्याची हुन् । अन्य दुईजना सिंह र धानुक एआईजी भए उनीहरू दुवै भावी आईजीपीका लागि प्रतिस्पर्धी मानिनेछन् । 

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  २ : ११ बजे