मन्थली विमानस्थलमा पानी पस्यो

लालपुर्जाविहीनका बारेमा छानबिन टोली

काभ्रेपलाञ्चोक। पैतालिस वर्षदेखि लालपुर्जाविहीन काभ्रेपलाञ्चोकको भुम्लू गाउँपालिकास्थित दुई वडाका करिब एक हजार २०० परिवारको जमिनबारे छानबिन गर्न छानबिन टोली फिल्डमा पठाइएको छ । दुई वडामा खटेको दुई टोलीले कोरोना सङ्क्रमणको उच्च जोखिमलगायत विभिन्न कारण दुई वर्षदेखि रोकिएको छानबिनको कामलाई निरन्तरता दिने जनाएको छ ।

 उक्त गाउँपालिकाको वडा नं ७ र ८ मा जग्गा विवाद छानबिन गरी लालपुर्जा वितरण गर्ने उद्देश्यले टोली पठाइएको नापी कार्यालयले जनाएको छ ।  गाउँपालिका, सम्बन्धित वडा कार्यालय तथा जिल्लास्थित मालपोत र नापी कार्यालयबीच पटक–पटकको छलफलपपछि पुनः टोली पठाउने सहमति भएको हो । “आन्तरिक विवादलगायत रोकिएको कामलाई निरन्तरता दिन दुई टोली खटाइएको छ उहाँहरुले रोकिएको काम पुनः सुरु गर्नुभएको छ,” नापी कार्यालयका प्रमुख राम विनयकुमार सिंहले भन्नुभयो । यो पटक पठाइएको टोलीले आन्तरिक विवादसँगै लालपुर्जा वितरणसम्बन्धी वृहत्रुपमा अध्ययन गर्नेछ । 

दुवै वडामा २०७६ साल पुसमा नापी र मालपोतका दुई शाखा स्थापना गरिएकामा  नेपालमा पनि कोरोना महामारी फैलिएपछि थालिएको काम रोकिएको थियो । कोरोनाको जोखिम घटेपछि २०७७ मङ्सिरदेखि पुनः काम थालिए पनि केही काम नहुँदै पुनः कोरोनाको दोस्रो लहरले छानबिनलाई थाती राखिदियो । गत पुसदेखि काम पुनः थालिने गरी टोली पठाइने तयारी गरे पनि कोरोना तेस्रो लहरका कारण नसकिएको उहाँले  बताउनुभयो । त्यसयता छानबिनका लागि टोली पठाउन ती  कार्यालय र स्थानीय तहसँग छलफल तथा समन्वय भएको थियो । 

 करिब दुई वर्षदेखि स्थानीयस्तरका नापी र मालपोतका ती शाखा कर्मचारीविहीन अवस्थामा थिए । फिल्डमा खटेको नापीको टोली स्थापनाको केही महिनापछि नै फर्किएपछि ४५ वर्षदेखि लालपुर्जाको पर्खाइमा बसेका करिब एक हजार दुई सय परिवारमा पुनः निराशा छाउनका साथै लालपुर्जा वितरणमा थप अन्योल हुँदै आएको थियो । 

साबिकको पीपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे गाविस दुवैमा खेतीयोग्य जमिन परेपछि त्यो जमिन कुन गाविसले लिने भन्ने विषयमा विवाद हुँदा विसं २०३२ मा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्व तहको विवादका कारण नापी टोली फर्किएको थियो । 

त्यसपछि भुम्लू गाउँपालिकाले सात र आठ नं वडाका बासिन्दाको जग्गाको छानबिन गरी लालपुर्जा दिन जिल्लास्थित कार्यालयमा माग गरेकामा त्यहाँ कार्यालयको दुई शाखा राखिएको थियो ।जग्गाको  नक्साङ्कन गर्न लाग्दा सीमा विवादका कारण आफ्नै जमिन आफ्नो नाममा नभएपछि करिब एक हजार दुई सय लालपुर्जाविहीनले फिल्डमा खटिएका  नापी र मालपोतको दुबै शाखामा २०७७ माघ महिनासम्म लालपूर्जाका लागि निवेदन दिएका थिए ।

करिब ३०० को लालपुर्जा तयार भइसके पनि  कोरोना सङ्क्रमणका कारण करिब डेढ वर्षसम्म जमिन छानबिन गरी लालपुर्जा वितरणको काम रोकिएको कार्यालय प्रमुख सिंहले बताउनुभयो । “छानबिन गरी पुर्जा दिन केही व्यक्तिको मृत्यु भइसकेकाले कुन आधारमा नामसारी गर्ने भन्नेबारे थप समस्या सिर्जना भएकाले त्यसबारे गहनरुपमा छलफल र कानुनी आधारमा सहमति गर्नुपर्ने देखिएको छ,” उहाँले भन्नुभयो ।

साबिकको भुम्लुटार र फलाँटे गाविसबीचको सिमाना विवादका कारण ४५ वर्षदेखि यी दुई तत्कालीन गाविसका सर्वसाधारणले हालसम्म पनि आफूले प्रयोग गर्दै आएको जग्गाको लालपुर्जा प्राप्त गर्न सकेका छैनन् । कार्यालयका अनुसार ७ नं वडास्थित कार्यालयमा ९३२ र ८ नं मा ३१७ थान निवेदन दर्ता भएको छ । 

निवेदन बुझ्ने काम भए पनि थप प्रक्रिया अघि बढेको थिएन । नापीले मालपोतबाट जमिनको सुरुदेखि अन्तिम जग्गाधनी को हुन् भन्नेमा स्रेस्ता आएपछि मात्रै निवेदन दिएका व्यक्तिको जग्गा दर्ता गरी लालपुर्जा दिन सकिने जनाउँदै आएको छ । हाल दुवै वडामा तेस्रो पक्षका व्यक्तिमा किनबेच नभएको जग्गा मात्रै दर्ता गर्न सकिने तथा अन्यको हकमा कानुनी आधारमा निक्र्यौल गरी प्रक्रिया थाल्नुपर्ने देखिएको जनाइएको छ । 

“निवेदनउपर छानबिन गरी जग्गादाताले आवश्यक प्रमाण जुटाउने प्रक्रिया अघि बढिरहेका बेला कोरोनाले काममा असर पा¥यो, लामो छलफलपछि कामलाई निरन्तरता दिन कर्मचारी खटेका छन्, अब काम अघि बढ्ला !,” गाउँपालिका अध्यक्ष गुमानध्वन कुँवरले भन्नुभयो । रासस

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  २ : ०५ बजे