एनपीएलको ट्रफी सार्वजनिक

ज्येष्ठ नागरिकको मानवअधिकार संवेदनशीलता

नेपालमा  केही समययता आएर सरदर आयु बढेको छ । यसले ज्येष्ठ नागरिकको सङ्ख्या पनि बढ्न गएको छ । आयु र सङ्ख्या बढेसँगै ज्येष्ठ नागरिकका सकस पनि थपिएका छन् । परिवारका गरिखाने उमेरका सबैजसो बाहिर पढ्न वा काममा जान्छन् । वृद्ध र अशक्त अवस्थामा एकान्तवास दिक्क लाग्ने हुने रहेछ । बिग्रेका सन्तानले भने  बा—आमा पालेको छु भनेको सुनिन्छ । यसरी उनीहरूमाथि घरेलु हिंसा सुरु हुन्छ । घरपरिवार र इष्टमित्रबाट पृथक् बनाएकोलाई  प्रायः वास्ता नहुने हुँदा पीडा हुने कुरा भेटघाटमा ज्येष्ठ नागरिक बताउँछन् । यस्ता व्यवहारको अदृश्य पीडा बाचुन्जेल दुख्दो रहेछ । देखिने हिंसा हुँदो हो त छिमेकीलाई पनि सह्य हुने कुरा थिएन ।

समाजमा  ज्येष्ठ नागरिकको बहस निरन्तर चलेकै छ, ‘कुरा सुन्नु बुढाको’ भन्ने पनि छन्, ‘उहिलेका कुरा खुइलिए’ भन्दै कान थुन्ने पनि छन् । परिवार, समाज र राज्यप्रति ज्येष्ठ नागरिकका पनि कर्तव्य हुन्छन्, उनीहरूको पनि कर्मनिष्ठ सक्षम नागरिक निर्माणमा दायित्व हुन्छ । अर्कातिर ज्येष्ठ नागरिकलाई अशक्त अवस्थामा सन्तानलाई सम्पत्ति बाँडेर खाने कानुन बनाउँछ राज्य । बाठो सन्तानले ‘जिउनी’ समेत हात पार्ने दाउ खेल्न थाल्छ । राज्यले मेहनती नागरिक बनाउने वातावरण र कानुन तर्जुमा गर्ने नीति नलिँदा वृद्ध बा—आमालाई घरमै बन्धक बनाएर वा वृद्धाश्रम लखेटेर आफू राइँदाईँ गर्ने क्रम बढिरहेको छ । उनीहरूमाथि हिंसा र हत्यासम्मका अप्रिय खबरबाट समाज मुक्त छैन । ‘सानो छँदा मर्ला कि भन्ने पिर, ठुलो भएपछि मार्ला कि भन्ने डर !’ को अवस्था रहनुको कारणको खोजी गरिनु जरुरी छ । ज्येष्ठ नागरिकका अथक सङ्घर्षबाट केही कानुनी सुविधाका प्रावधान थपिए, तिनको कार्यान्वयनमा आत्मीय तदारुकताको कमी छ । व्यवहारमा हेपाहा प्रवृत्ति झल्किन्छ । समाजलाई बदल्न शैक्षिक संस्थाका पाठ्य पुस्तकमा विद्यालयबाटै यी विषयको पठन—पाठन थालनी गरिनुपर्दछ ।

ज्येष्ठ नागरिक भनेका सिङ्गो जीवन सङ्घर्षले खारिएका, अनुभवले भरिएका उच्च  तहका नागरिक हुन् । यिनीहरू आमा, बा, हजुरआमा, हजुरबाको तहका परिपक्वताले भरिँदै नयाँ पुस्तालाई इतिहासको जीवन्त घटना परिघटना र त्यसको व्याख्या विश्लेषण गर्न सक्ने जनाधार हुन् । उनीहरू धेरै आँधी—हुरीको सामना गर्दै आउँदा शक्ति क्षीण भएको अवस्थाका होलान् । यिनै परिवारको जहाज तानेर अहिले कुप्री परेका होलान्, लट्ठी टेकेर हिँडेका होलान् । नयाँ पुस्ताले, समाजले, राज्यले यिनले  देखेका र भोगेका जीवन्त घटना  सुरक्षित राख्नुपर्छ । अन्यथा हाम्रो इतिहास अधुरो हुनेछ । हामीले अरूले होच्याएर लेखेका विकृत इतिहास पढ्न बाध्य हुनु पर्ने छ । हामी सचेत नहुँदा यिनीहरूले भोगेको हाम्रो हिजो गुमनाम हुनेछ ।

ज्येष्ठ नागरिक एउटा खास अवस्था हो भन्दा पनि हुन्छ । छोटो आयु बाँच्नेहरू बाहेक सत्तरी उमेर पुगेकालाई राज्यले परिभाषित गरेको साँध–सीमा पनि हो । यसलाई श्रमको उमेरसँग राज्यले आफ्नो क्षमताका आधारमा मिलान गर्दै जानु उपयुक्त हुनेछ ।

गरिबिको रेखा मुनिका सीमान्तकृत वर्गमा परेका दूर दराजका ज्येष्ठ नागरिकको अवस्था निकै कष्टकर रहेको देखिन्छ । उपचारको समस्या, कुपोषणले जीर्ण शरीर र लट्ठीको सहारामा पुग्दा कतिपय आफ्नै सन्तानबाट अपहेलित हुन पुगेर दुःखका आहालमा रहेका छन् ज्येष्ठ नागरिकहरू । 

बुढ्यौलीका रोगहरूले सताइएका र अशक्त अवस्थाप्रति हिजो हुर्काएका  सन्तान सबैभन्दा नजिकका जानकार हुन्छन् र हुनुपर्दछ । उनीहरू नै सहज जीवनका जिम्मेवार पनि हुनुपर्छ । बुढेसकालका आमा—बाबुको सम्पत्ति बाँडेर आफूले लिने असहाय बनाएर छाडेको पनि देखिँदै छ । यो कुरामा राज्यको ध्यान जानुपर्ने हुन्छ । दूर दराजका गरिब घरका वृद्ध महिलाहरूमाथि महिला भए बापत बोक्सीको आरोप पिठ्युँ पछाडि लागि रहेको हुन्छ । महिलामाथिको  थप अधिकार हनन यथावत् रहेका छन् । सचेत महिलाले ‘धर्तीमाथि दाबी’ गर्नु जायज छ । उनीहरू पनि  अंशमाथि वंशको परिपाटि स्थायी समाधान ठान्दैनन् । समाज पुरानै सङ्गठनमा थामिने देखिँदैन । नयाँ पुस्ता नयाँ ढङ्गले हिँड्छ । ऊ आफ्नो गन्तव्यमा अघि बढ्छ । राज्यले एउटाका हक अर्काले पाउने विभेदलाई अन्त्य गर्न लाग्नु पर्छ । राज्य खाइपाइ आएकाको मात्र होइन, विभेदमा परेका र सीमान्तकृत नागरिकको पनि हो भन्ने मान्यता राख्नुपर्छ । राज्य सबैको हो, यसमा सबैका हक दिलाउने तदारुकता हुनै पर्छ ।

समाजमा अघोरी सन्तानकै साम्राज्य छ भन्ने पनि होइन । आफ्ना वृद्ध अशक्त बा—आमा हजुरबा, हजुरआमाप्रति साह्रै माया गर्नेहरू पनि छन् । उनीहरूले निष्ठाका साथ सेवा गरेको पाइन्छ । केही वर्ष पहिले यो पङ्क्तिकार ज्येष्ठ नागरिक सेवा समाजबाट गोरखाको लाँकुरी डाँडामा पुग्दा यस्ता परिवार भेटेको थियो । समाजका यिनै असल परिवारबाट समाजले, राज्यले र अरू परिवारले सिक्न सक्नुपर्छ । ज्येष्ठ नागरिकमैत्री परिवार र ज्येष्ठ नागरिक पीडक परिवारको लगत राख्ने र उनीहरूलाई प्रोत्साहन र दण्डको नियम बनाएर कार्यान्वयनमा ल्याउन आवश्यक छ । 

मतदानमा उनीहरूलाई बोकेर लगेको हामीले देखेका छौ। देशका प्रतिनिधि छनोटमा वृद्ध वृद्धाको महत्त्व छ । उनीहरूको जीवनको महत्त्व पनि कम छैन । गाउँ तथा नगर सरकारले उनीहरूको सहज—असहज अवस्थाको देखरेख, परिवारसँगको सहकार्यमा गर्ने कानुन बनाएर लागू गर्न किन सक्दैन ? यस कुरामा स्थानीय तहमा बहस गरिनुपर्छ ।

तपाईँ भोलिको भविष्य सम्मका लागि भनेरै घर बनाउनु हुन्छ । वृद्ध आमा–बाका लागि ज्येष्ठ नागरिकमैत्री घर बनाउन नबिर्सनुस् । तपाईँका घरमा वा नाता—आफन्तमा अपाङ्गता भएका छन् या हुन सक्छन् । भोलि  तपाईँलाई  पनि  काम लाग्न सक्छ ।  घरका वृद्ध वृद्धाहरूका लागि  हावा खेल्ने भुइँतला बनाउन ध्यान दिनुस् ।  उनीहरूलाई  वरपर हिँड्ने वातावरण चाहिन्छ ।  आफन्तसँग भेट्दा कुरा गर्दा ज्येष्ठ नागरिकहरू रमाउँछन् । उनीहरूले आफ्ना अनुभव सुनाउन नपाउँदा मनोरोग थपिने हुन्छ । परिवारका सदस्यले निरन्तर कुरा गर्नेहरू डाइमेन्सीया जस्ता विस्मृतिबाट जोगिन्छन् र एकान्त पीडा थपिन पाउँदैन । 

कतिपयलाई पूजापाठ गर्न नसक्दा, मन्दिर जान नसक्दा पाप लागेर नर्कमा परिने हो कि भन्ने चिन्ता हुँदो रहेछ । हामीले हाम्रा साक्षात् देवता माता—पिता र गुरुलाई नमान्नेहरू मात्रै पापी हुन्छन्, उनीहरूले आफ्नो घरलाई नर्क बनाएका हुन्छन् भन्ने विश्वास दिलाउन हामी लाग्नुपर्छ ।  हामीले घरमा वहाँहरूलाई नर्क अन्त कहीँ हुँदैन भन्ने विश्वास दिलाउनु पर्छ । स्वर्ग भनेको खुसी हुनु हो । घरमा खुसीयाली हुने घर नै  साँचो स्वर्ग हो । अन्त भौँतारिएर स्वर्ग भेटिन्न । आफ्नै घरका सबै राजी खुसी हुने अवस्था सिर्जना गरेर स्वर्ग बनाउने हो भन्ने कुरा  व्यवहारमा परिवारले गर्नुपर्छ । तपाईँले वृद्ध वृद्धालाई बेवास्ता नगर्नुहोला । पीडा बढेर आगन्तुकसँग बह पोख्ने अवस्था आउन दिनु राम्रो हुँदैन । यसले आपसमा दुखाउन बढ्छ । समाजमा यो समस्या बढी देखिन्छ । मैले केही ज्येष्ठ नागरिकलाई सय वर्ष बढी आयु होस् भनेको थिएँ भेटमा । उनीहरूले छिटै मर्ने चाहना भएको बताएका थिए । जन्मदाताले मृत्युको कामना गर्ने र बाकी हाँसी खुसी रमाउने असहज अवस्था हो । हाम्रो व्यवहारले निर्माण भएको संस्कार भोलिको आफ्नै नियति बन्न सक्छ । 

हामीलाई आफ्नो विगत ढाकछोप गर्न नयाँ बिकाऊ पुस्ता बनाउने रोगले ग्रस्त पार्दै छ । हामीलाई हाम्रो इतिहास जान्ने, त्यसलाई सम्मान गर्ने, संरक्षण गर्ने कुरा बेकार झुर लाग्दै छ । नेपाल सतीले सरापेको देश भन्न गौरव मान्न थालेका छौँ । हामीलाई नेपालमा केही हुन्न भन्ने रोग लाग्दै छ । हाम्रा सन्तानलाई पुर्खाले भोगेको कष्टकर जीवन सुनाउन लाज मान्ने ढोँगी बन्दैछौ। उनीहरूले कुन दुःखले हामीलाई पढाए, जान्ने सुन्ने, बुझ्ने बनाए ? सन्तानलाई जानकारी दिँदैनौँ । वृद्ध आमा बाहरूका नाति—नातिना प्रतिको मायाको बेवास्ता गर्दैछौँ । नानीबाबुहरूलाई वहाँहरूका  कुरा सुन्न लगाउन छाड्दैछौं। हाम्रो नयाँ पुस्तालाई फेदबाट पलाउन रोक्दछौँ ।   हामीले भाषा, संस्कृति नसिकाए उनीहरूको जग भत्किन्छ । हाम्रा सन्तान टुप्पाबाट पलाएका र गुलेलीबाट छुटेका मट्याङ्ग्रा जस्ता हुने पक्का छ । उनीहरूमा निजी क्यारियर बनाउन परिवारले गरेका त्यागलाई  सहजै कुल्चने संस्कार  हुर्कने छ । यस खाले प्रवृत्ति हाबी हुँदा हाम्रो राष्ट्र, राज्य दुवै कमजोर हुनेछन् । 

ज्येष्ठ नागरिकलाई परिवार, समाज र राज्यले केही महत्त्व दिन प्रयास गरिरहेको छ । कतिपय शासकीय तहमा पुगेका असामाजिक तत्त्वबाट भने दिएका सुविधा कटौतीको बकवास र त्यसको प्रतिकार हामीले हालसालै सामाजिक सञ्जालमा देख्यौँ। 

हामी सामाजिक विभेद र उत्पादनमा असमान वितरणबाट थिचिएका छौँ । राज्य निजीकरण  बजार अर्थतन्त्रमा लहसिँदै छ । संविधान देखाएर चोखिने रवैया कसैबाट लुकेको छैन । खास गरी बालबालिका, महिला र ज्येष्ठ नागरिकका सवालमा राज्यले सन्तुलित र विवेकी नीति लिएर सामाजवादउन्मुख हुन जरुरी भइसकेको ।

(लेखक वरिष्ठ वामपन्थी नेता हुनुहुन्छ ।)

 

 

 

 

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहिबार  ११ : ४५ बजे